राजनीति

ओली र प्रचण्डबीच कुरो मिलेन : यस्ता छन् दाउपेच

हिमालय टिभी
२०७७ साउन १९ गते २०:४५
ओली र प्रचण्डबीच कुरो मिलेन : यस्ता छन् दाउपेच

१९ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको छलफल पनि विना निष्कर्ष सकिएको छ । स्थायी कमिटी वा सचिवालय मध्ये कुन बैठक बस्ने भन्नेमै दुई अध्यक्षबीच कुरा मिल्न सकेन ।

ओलीले सचिवालय बैठकको प्रस्ताव गर्नुभएको छ भने प्रचण्डले स्थायी कमिटीबाटै समाधान खोज्नु पर्नेमा जोड दिनुभएको छ । बैठकमा सहभागी एक नेताका अनुसार कुरा मिल्न सकेन, विवाद जहाँको तहीँ छ । छलफल हिजो सकारात्मक भएको भनिएपनि आज फेरि थप गाँठो पर्ने दिशातिर गएको छ ।

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आईतवार भनेझैं सोमवार बालुवाटारमा जेरी पाक्यो र, ओली प्रचण्ड सहितका नेताहरुले खाए पनि, तर विवाद मिलेर मिठो सन्देश जान्छ भनेर गरेको दावी र विश्वास अनुसार काम भएन । वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपेनता नेम्वाङलाई साक्षी राखेर गरिएको छलफलमा सहमति हुन सकेन । ओली र प्रचण्डबीचको विवाद जहाँको त्यहीँ रह्यो । बरु अब समाधान के भन्ने होईन कसरी खोज्ने भन्ने बाटोतिर विवाद मोडिएको छ ।

स्थायी कमिटी कि सचिवालय
विवाद समाधान गर्न भनेर असार १० देखि शुरु स्थायी कमिटी बैठकपछि नेकपामा झन भाँडभैलो भएको । न बैठक अघि बढेको छ न बस्नै नै सकेको छ । र, विवाद बढ्दै जाँदा स्थायी कमिटी बस्न नसक्ने अवस्था आएको छ ।

सोमबार पनि यो विषयमा ओली र प्रचण्डबीच छलफल भयो । छलफलमा सहभागी एक नेताका अनुसार ओलीले स्थायी कमिटी बैठक बस्न नसकिने प्रष्टै पार्नुभएको छ । ओलीले भन्नुभएको छ– ‘ स्थायी कमिटीमा छलफल गर्दा विवाद चर्किएको छ, यसलाई समाधान गर्ने हो भने सचिवालय बैठक बोलाउँ, तपाईं र म छौं सहमति गरौं ।’ तर प्रचण्डले त्यसलाई अस्वीकार गर्नुभयो । प्रचण्डको ओलीलाई प्रश्न छ– स्थायी कमिटीको बैठक अलपत्र पारेर सचिवालयमा छलफल कसरी गर्ने रु ओली सचिवालय र प्रचण्ड स्थायी कमिटी बस्नुपर्ने अडानमा हुनुहुन्छ ।

राजीनामाको माग यथावत, नदिने अडान पनि कायमै
बोलाइएको स्थायी कमिटीमा छलफल नगर्ने हो भने प्रधानमन्त्री र पार्टी अध्यक्ष मध्ये स्वेच्छाले एउटा पद छोड्न प्रचण्ड र वरिष्ठ नेता खनालले सोमवार पनि आग्रह गर्नुभयो । तर यसमा पनि ओलीले आफ्नो पुरानो अडान दोहोर्याउनुभयो । दुई मध्ये एक पद छोड्दा निकास मिल्ने प्रचण्ड र खनालको प्रस्तावमा ओलीले ‘मेरोतर्फबाट संझौता हुन्न । जे जे छाड्ने हो तपाईंहरु छाड्नुहोस् । ’ भनेको छलफलमा सहभागी ती नेताले बताए । आफूलाई पेल्न खोजेकोले राजिनामा नदिने ओलीको अडान छ ।

केन्द्रीय कमिटी र महाधिवेशनमा पनि गलफत्ती
ओली र प्रचण्डबीच केन्द्रीय कमिटी बैठक र महाधिवेशनका विषयमा पनि छलफल भयो । तर अरु विषयमा जस्तै यसमा पनि कुरा मिलेन । स्थायी कमिटीमा जाने र एक पदबाट राजिनामा दिने विषयमा समेत कुरा नमिलेपछि प्रचण्ड र वरिष्ठ नेता खनालले उसो भए केन्द्रीय कमिटीबाट निकास खोजौं भन्ने प्रस्ताव गर्नुभयो । तर ठाडै अस्वीकार गर्दै ओलीले स्थायी कमिटी जस्तै केन्द्रीय कमिटी बैठक बस्न नसकिने प्रष्ट पार्नुभयो ।

केन्द्रीय कमिटी बोलाउनुको नियतमाथिनै ओलीको आंशका छ। बरु महाधिवेशनमा जानुपर्ने र त्यहाँ आफूले छोड्ने ओलीको प्रस्ताव छ । घेराबन्दी गर्ने र दबाब दिने उद्देश्यले केन्द्रीय कमिटी बैठक बोलाउन खोजिएको ओलीको बुझाई छ । ओलीको प्रष्ट अडान छ–केन्द्रीय कमिटी बैठक सम्भव छैन । बैठक मागेर हस्ताक्षर कसले बुझाए, त्यो हेर्नुपर्छ ।’ केन्द्रीय कमिटीमा जाँदा झन स्थिति बिग्रने ओली र उहाँ पक्षधर नेताहरुको बुझाई छ ।

प्रस्तावमा आ–आफ्ना दाउ
महाधिवेशन अस्वीकार नगरे माग टाइँ टाइँ फिस हुने देखेको प्रचण्ड नेपाल समूह कुनै सहमति बिना अर्लि महाधिवेशनमा जाने मनस्थितिमा देखिएको छैन । अर्थात यो समूह ओली माथि पर्छन भन्ने त्रासमा छ । ओलीले पद छोड्नु पर्ने मागबाट चर्केको विवाद सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी वा महाधिवेशन कहाँबाट सल्ट्याउने भन्नेमा विवाद भैरहेको छ ।

यसमा दुवै समूहका रणनीति र दबाब बनाउने योजना पनि लुकेका छन् । स्थायी कमिटी बैठक चलिरहेकै बेला सचिवालय बैठक बोलाउनुका पछाडि ओलीको स्वार्थ छ, पछिल्लो पटक दुवै पद छोड्नु नपर्नेमा वामदेव गौतम र रामबहादुर थापाको साथ पाएपछि ओली सचिवालयमा बहुमतमा हुनुहुन्छ ।

प्रचण्ड नेपाल समूह भने स्थायी कमिटीमा रहेको आफ्नो बहुमत अनुसार निर्णय गर्ने दाउमा छ । नभए केन्द्रीय कमिटी बैठक बोलाउने उसको प्रस्ताव पनि बहुमतकै खेल हो । तर ओली आफू अल्पतमा हुने बैठकमा जान तयार हुनुहुन्न, बरु महाधिवेशनको कार्ड फाल्नुभएको छ । यसो गर्दा पद छोड्नु पर्दैन । त्यसैले दुवै पक्ष अहिले आफू अनुकुलका दाउ र योजनामा एक अर्कालाई अघि बढाउने रस्साकस्सीमा छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्