Main News

पर्सामा ६ जना कैदीबन्दीसहित ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ साउन १४ गते १२:५७
पर्सामा ६ जना कैदीबन्दीसहित ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

१४ साउन, २०७७, वीरगञ्ज । ६ जना कैदीबन्दीसहित पर्सामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमितको संख्या बढेर व्यवस्थापनमा समस्या भइरहेको वीरगञ्जमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नारायाणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

२ सय ७४ जनाको स्वाब नमुना परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिनुभयो । दुई वर्षीय बालकदेखि ६५ वर्ष उमेरका ३४ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ५ जना बालबालिका र १० जना महिला छन् ।

कन्ट्याक्ट ट्रेसिङमा मात्रै नभएर पेड पीसीआर गराएकामा पनि कोरोना देखिएको डा। उपाध्यायले जानकारी दिनुभयो । अस्पतालको प्रयोगशालाले दिएको जानकारी अनुसार संक्रमित मध्ये २० जना वीरगञ्जकै छन् । वीरगञ्जको श्रीपुर, आदर्शनगर, बेल्वा, भिश्वा, सिर्सियाका मानिसमा संक्रमण देखिएको हो ।

नेपाली सेनाका १ जना, ३ जना प्रहरी, ६ जना कैदीबन्दी, २ जना कारागारका कर्मचारी, १ जना स्वास्थ्यकर्मी र १ जना पेड पीसीआर गराएका व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । वीरगञ्ज कारागारमा २२ जनाको स्वाब नमुना संकलन गरिएको थियो ।

कैदी बन्दीमा संक्रमण देखिएपछि उनीहरुलाई कसरी आइसोलेटेड गर्ने भन्ने समस्या सृजना भएको कारागार कार्यालयले जनाएको छ । ५० बेड क्षमताको अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा ६२ जना कोरोना संक्रमितलाई राखिएको छ । जसमध्ये ५ जना आइसीयुमा छन् ।

पर्सामा यसअघि नै ४८ जना संक्रमित घरमै छन् । होम आइसोलेसन भनिएपनि आइसोलेसनको मापदण्ड पुगेको छैन । घरमै संक्रमित राख्दा होम आइसोलेसनको मापदण्ड पुरा नहुने भएकोले परिवारमा कोरोना संक्रमण फैलने जोखिम बढीरहेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *