Main News

कोरोना संक्रमितको शव व्यवस्थापनमा समस्या

हिमालय टिभी
२०७७ साउन १४ गते ८:३२
कोरोना संक्रमितको शव व्यवस्थापनमा समस्या

वीरगञ्जमा १४ साउन, २०७७ पर्सा । वीरगञ्जमा पनि कोरोना संक्रमितको शव व्यवस्थापनमा समस्या देखिएको छ ।

शव व्यवस्थापनका लागि तोकिएको ठाउँका स्थानीयले विरोध गरेपछि शवको दाहसंस्कारमा समस्या हुँदै आएको छ । कोरोना संक्रमणबाट वीरगञ्जमा मृत्यु भएका ५ जना संक्रमितको शव व्यवस्थापन तीन ठाउँमा भएको छ ।

कोरोना विशेष अस्पतालमा आइतबार मृत्यु भएका भारतीय नागरिकको शव व्यवस्थापन मध्यरातमा गरिएको छ । सोमबार मध्यरातमा तिलावे खोलाको किनारमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले शव गाडेको हो ।

शव व्यवस्थापनको जिम्मा नेपाली सेनाको भएपनि स्थानीयले अवरोध गरेपछि प्रहरीले सहयोग गर्दै आएको छ । स्थानीय प्रशासन र महानगरपालिकाले भनेको स्थानमा शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि राति तिलावेमा संक्रमितको शव गाडिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी मनोजीत कुँवरले जानकारी दिनुभयो ।

वीरगञ्ज–१० आदर्शनगरमा व्यवसाय गर्दै आएका ६५ वर्षीय वृद्धमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबार वीरगञ्ज–३१ बेल्वाको जंगलमा शव व्यवस्थापनका लागि गएको नेपाली सेनाको टोलीलाई स्थानीयले बाटैमा रोकेका थिए ।

यसैबीच जिल्ला प्रशासन कार्यालय पर्साले जगदम्बा इन्टरप्राइजेजलाई सिल गरेको छ । जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत सहित ४ जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि प्रशासनले इन्टरप्राइजेजलाइ सिल गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *