Main News

काठमाडौंमा बरामद १५ किलो सुनजस्तो धातु चाँदी निस्कियो, आधा किलो मात्र सुन

हिमालय टिभी
२०७७ साउन १३ गते १५:०४
काठमाडौंमा बरामद १५ किलो सुनजस्तो धातु चाँदी निस्कियो, आधा किलो मात्र सुन

१३ साउन, २०७७ काठमाडौं । प्रहरीले काठमाडौंको कमलादीबाट बरामद गरेको १५ किलो पहेंलो धातुमध्ये ५ सय ग्राम मात्रै सक्कली सुन भएको पुष्टि गरेको छ ।

मंगलबार विहान बरामद १५ किलो पहेंलो धातु परीक्षण गर्दा ५ सय ग्राम (आधा किलो) मात्रै सक्कली सुन भएको पुष्टि भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले १५ किलो पहेंलो धातुमा आधा किलो मात्रै सुन भएको बताउनुभयो ।

बाँकी साढे १४ किलोग्राम चाँदी र बाहिर जलप लगाएको पुष्टि भएको पत्रकार सम्मेलन मार्फत बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘१५ किलो सुनजस्तो देखिने पहेंलो वस्तु बरामद भएको थियो ।

जाँचका लागि सुनचाँदी व्यवसायी संघमा पठाइएकोमा उक्त धातु मध्ये अहिलेको मूल्य अनुसार ४२ लाख ९ हजार ५ सय रुपैयाँ बराबरको आधा किलो सुन र बाँकी १५ लाख ५६ हजार ४ सय मूल्य बराबरको चाँदी रहेको पाइयो ।’’

प्रहरी मंगलबार विहान कृष्ण पाउनरोटी नजिक चेकजाँच छलेर भागेको बा ६ च ५५१९ नम्बरको स्कारपियो गाडीको पिछा गर्ने क्रममा फालेको सेतो रंगको झोलामा उक्त धातु बरामद गरेको थियो ।

झोलामा अवैध हतियार समेत फेला परेको छ । माउजर लेखिएको २ थान पेस्तोल र सोही पेस्तोलमा प्रयोग हुने २ थान म्यागजिन पनि बरामद भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *