आर्थिक

बेलैमा रोपाईँ सकेका किसान समयमा मल नपाउँदा निराश (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १३ गते १३:४२
बेलैमा रोपाईँ सकेका किसान समयमा मल नपाउँदा निराश (भिडियोसहित)

१३ साउन २०७७ काठमाडौं । विगत वर्षहरु भन्दा यसवर्ष मनसुन छिटै सक्रिय भयो । मनसुन सक्रिय भएपछिका बाढी पहिरोका बीच किसानले समयमै रोपाइँ गर्न पाए । तर रोपाइ सकिएपछि अति आवश्यक पर्ने मल उनीहरुले पाएनन् । त्यसैले यतिबेला किसान निराश बनेका छन् । सरकार भने लकडाउनका कारण मल आयात हुन नसकेको भन्दै निरिहता प्रस्तुत गरिरहेको छ ।

मनसुन चाँडै सक्रिय भयो । त्यसैले किसानहरुले समयमै रोपाइ गर्न पाए । र अहिले रोपेका धानहरु हरियो फर्किएर गोड्ने बेला भएको छ । तर किसानसँग गोडेको धानबालीमा छर्ने मल छैन ।

हरियो फर्किएका धानका गाँज मलको अभावमा मर्ने हुन् की भन्ने चिन्ताले किसानलाई सताएको छ । किसानले मलको अभाव व्यहोरेको यो पहिलो पल्ट हैन । हरेक वर्ष किसान हरेक वर्ष समस्यामा पर्छन् । र सरकार हरेक वर्ष बहानाबाजीमै रमाउँछ । र यसवर्ष पनि उसले कोरोना कहरलाई आफ्नो बहाना बनाएको छ ।

स्वदेशमै मल उत्पादन नहुने भएकाले विदेशबाट आयात गरेर पूर्ति गर्ने जिम्मा कृषि मन्त्रालयलाई छ । तर हरेक वर्ष वर्खा लागेपछिमात्र मलका लागि तात्ने सरकारी नीति परिवर्तन हुन सकेको छैन ।

अर्थात किसानलाई चाहिने मलखादको व्यवस्था मनसुन सुरु हुनु अघिनै गर्नेतर्फ सरकारले चासो दिएको देखिँदैन । वर्षेनी बल्झिरहने समस्या समाधानका लागि सरकारले किन दीर्घकालिन समाधान खोज्न चुकिरहेको छ ?

चालू आर्थिक वर्षको बजेट मार्फत सरकारले मल खरिदका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ११ अर्ब रुपैयाँ दिएको छ । अघिल्लो वर्षपनि ९ अर्बभन्दा बढी बजेट थियो । तर पर्याप्त बजेट भए पनि उसले चाहिएको मल ल्याउन सकेन ।

कोरोना भाइरस संक्रमणको त्रासका कारण वितेका ४ महिना देश ठप्पजस्तै भयो । जसले देशको अर्थतन्त्रमा नराम्रो धक्का लागेको छ । जसको भर्पाइ कहिले हुने हो थाहा छैन । समग्र अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिएको कृषि क्षेत्रमा राज्यले प्रभावकारी नीति अवलम्न गर्न सक्ने हो भने थलिएको अर्थतन्त्र उकास्न सहज हुने थियो की ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *