महोत्तरीमा नागरिकलाई छैन कोरोनाको डर: सबैतिर भिडभाड् (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १२ गते २०:०५
महोत्तरीमा नागरिकलाई छैन कोरोनाको डर: सबैतिर भिडभाड् (भिडियोसहित)

१२ साउन, २०७७ महोत्तरी । सरकारले कोरोना संक्रमित घटेको तथ्यांक सार्वजनिक गरिरहेको छ । तर विज्ञले कोरोना संक्रमणको खतरा झनै बढेको चेतावनी दिँदै आएका छन् ।

विराटनगर, वीरगञ्ज लगायका शहरमा पछिल्लो पल्ट संक्रमण समुदायमा नै फैलिसकेको अनुमान गरिएको छ । तर संक्रमणबाट बच्न सावधानी अपनाउनु पर्ने नागरिकले भने लापरवाही गरिरहेका छन् ।

दृश्य देखेर तपाईँ झुक्किनु भयो होला । पोहोरको दृश्य हो भनेर । तर हैन । यो सोमबार बिहान महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिरमा देखिएको दृश्य ।

गाउँ गाउँबाट देउतालाई खुशी पार्न श्रद्धालु यसरी जलेश्वर मन्दिरमा आएका हुन् । उनीहरुले कोरोना संक्रमणबाट जोगिन कुनै सावधानी अपनाएका छैनन् । यो भीडमा रहेका कसैले पनि मास्क लगाएका छैनन् । भौतिक दुरी पालनाको त संभावना नै छैन ।

अनि यो जलेश्वरमा लाग्ने हटियामा पनि यस्तै दृश्य छ । दैनिक उपभोगका तरकारी लगायतका सामान किन्न मान्छे ठेलमठेल गर्दै छन् ।

पछिल्लो समय लकडाउन छैन । तर कोरोना संक्रमण समुदायस्तरमा नै फैलिने जोखिम बढेको भनेर विज्ञले चेतावनी दिँदै आएका छन् । उनीहरुको चेतावनी अनुसार अहिले चैतमा लकडाउन हुने बेलामा भन्दा बढी जोखिम छ ।

यो भीड देखिएको महोत्तरी जिल्लामा अहिलेसम्म ८ सय ९३ जनामा कोरोना संक्रमित भेटिएका छन् । त्यसैले महोत्तरीसहित जलेश्वर पनि कोरोनाको जोखिममा छ ।

यो भीडमा पनि कोरोना संक्रमित हुने संभावना छ । यदि एक जना मात्र संक्रमित यो भीडमा भए संक्रमण खरमा लागेको आगो झैं गाउँभरी फैलने खतरा छ । त्यसैले यसरी भीड गरेर र भीडमा गएर कोरोना संक्रमणको जोखिममा आफू पनि नपरौँ र अरुलाइ पनि नपारौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *