राजनीति

नेकपा विवाद झन जटिल, प्रचण्डमाथि ओली पक्षको पलटवार (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १० गते १९:२४
नेकपा विवाद झन जटिल, प्रचण्डमाथि ओली पक्षको पलटवार (भिडियोसहित)

१० साउन, २०७७ काठमाडौं । सत्तारुढ नेकपाको आन्तरिक समस्या थप जटिल बन्दै गएको छ । विवाद कायमै रहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुको दबाबमै प्रधानमन्त्री केपी शर्मा ओली नेपालको नयाँ नक्सा छाप्न तयार भएको बताएपछि पार्टीमा तरंग आएको छ । पछिल्लो वाक युद्ध हेर्दा एकले अर्काको अस्वित्व स्वीकार नगर्ने र विवाद झन जटिल बनेको देखिएको छ ।

पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले शुक्रबार दिएको यो अभिव्यक्तिपछि नेकपामा आरोप प्रत्यारोप तिव्र भएको छ । प्रधानमन्त्री ओली पक्षधर नेता कार्यकर्ता आफ्नै पार्टी अध्यक्ष विरुद्ध खुलैरै मैदानमा उत्रिएका छन् ।

शनिवार विहान प्रदेश ५ का मुख्यमन्त्री समेत रहेका नेकपा स्थायी कमिटी सदस्य शंकर पोख्रेलले फेसबुकमा स्टेटस लेख्दै प्रचण्डमाथि खनिनुभयो । उहाँले कालापानी क्षेत्रको सिमा विवाद पुरानै भएको भन्दै आफु प्रधानमन्त्री हुँदा नक्साको कुरा थाहा नपाउनेले अहिले उहाँले होइन, मैले हो, भन्न कसरी सकेको ? भनेर प्रश्न गर्नुभयो ।

एकअर्कालाई खुइल्याउने क्रम दिनभर नै जारी रह्यो । प्रधानमन्त्रीकै प्रेस सल्लाहकार सूर्य थापाले सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीका यसअघिका निर्णय समेत राखेर लामो स्टाटस लेखेर प्रचण्डले दिँउसै रात पार्न खोजेको आरोप लगाउनुभयो । उहाँले आफू प्रधानमन्त्री रहेको बेला यो काम किन नगरेको भनेर प्रचण्डलाई प्रश्न सोध्नुभएको छ ।

प्रेस सल्लाहकार थापाले सरकारका विरोधी र विपक्षी दलका नेताको कुनै गुनासो र हीनता प्रकट नहुने, सत्ताधारी दलभित्र किन उछिनपाछिनको होडबाजी चलिरहेको छ ? अनि यो मपाईंत्व प्रदर्शन किन ? भन्दै प्रश्न बर्षाउनु भएको छ ।

लामो समयको अन्तरालमा बसेको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ । यो बीचमा विवाद समाधानका लागि धेरै प्रयास पनि भएका छन् । तर सहमतिको सुत्र अझै फेला परेको छैन ।

बरु नेपालको नयाँ नक्सा कसको पहलमा छापिएको भन्ने नयाँ विवाद शुरु भएको छ । अहिले प्रचण्ड(नेपाल पक्ष दुबै पदबाट राजिनामाको मागबाट पछि हटेर एक पद मात्रै छाडे पुग्ने बताइरहेको छ । तर दुबै पद नछाड्ने ओलीको अडान कायमै छ । मंसिरमै महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने ओली पक्षको प्रस्ताव पनि राजनीतिक कार्यदिशाको विवादका कारण तुहिएको छ ।

सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा प्रचण्ड नेपाल पक्षको अत्यधिक बहुमत छ । तर एकातिर पार्टी फुट्ने डर र अर्कोतिर यो अवस्थामा प्रधानमन्त्री हटाउँदा भारतको उक्साहटमा लागेको आरोप लाग्ने संभावनाका कारण प्रचण्ड नेपाल पक्ष अघि बढ्न सकेको छैन ।

नक्सा प्रकरणपछि भारत रिसाएको छ र त्यसलाई राष्ट्रवादका रुपमा उपयोग गर्दै प्रधानमन्त्री ओलीले लोकप्रियता आर्जन गर्न खोज्नु भएको छ । यस्तो अवस्थामा नक्सा प्रधानमन्त्रीका कारण नभइ आफुहरुको जोडबलमा छापिएको भन्ने प्रचण्डको अभिव्यक्तिले ओली खेमामा ठुलै हलचल मच्चिएको छ ।

आफुहरु पनि कम राष्ट्रवादी नभएको शन्देश आम जनतामा लैजाने र बहुमतका आधारमा निर्णय गर्न सजिलो वातावरण बनाउने प्रचण्ड नेपाल पक्षको रणनीति देखिन्छ । त्यही बुझेर ओली पक्ष पनि कम्मर कसेर त्यसलाई असफल बनाउन लागिपरेको छ । शनिबार आएका प्रतिक्रिया संभवत त्यसकै उपज हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्