आर्थिक

सरकारले उठायो ३ खर्ब ८४ अर्ब ३१ करोड राजस्व, कस्ले कति बुझाए ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १० गते १७:०८
सरकारले उठायो ३ खर्ब ८४ अर्ब ३१ करोड राजस्व, कस्ले कति बुझाए ? (भिडियोसहित)

१० साउन, २०७७ काठमाडौं । गत आर्थिक वर्ष आन्तरिक राजस्व विभागले ३ खर्ब ८४ अर्ब ३१ करोड रुपैयाँ राजस्व उठाएको छ । ‍गत आर्थिक वर्ष २ खर्ब १७ अर्ब २६ करोड रुपैयाँ आयकर, ९८ अर्ब २२ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर र ६४ अर्ब ७९ करोड रुपैयाँ अन्तशुल्क संकलन भएको थियो । गत आर्थिक वर्ष विभागले झन्डै ४ खर्ब राजस्व संकलन गर्दा कसले कतिकति राजस्व बुझाए त ?

गत आर्थिक वर्ष सबैभन्दा बढी कर तिर्ने संस्था हो, निजी क्षेत्रको टेलिकम सेवा प्रदायक कम्पनी एनसेल । गत आर्थिक वर्ष एनसेल एक्लैले सरकारलाई ३७ अर्ब १६ करोड रुपैयाँ कर बुझाएको छ ।

आयकर वापत मात्रै एनसेलले ३३ अर्ब ९५ करोड रुपैयाँ तिरेको छ जुन सरकारले संकलन गरेको कुल आयकरको १५ दशमलव ६ प्रतिशत हो । गत आर्थिक वर्ष आयकर बापत सरकारले २ खर्ब १७ अर्ब २६ करोड रुपैयाँ संकलन अर्थमन्त्रालयले जनाएको छ ।

एनसेलपछि सबैभन्दा धेरै आयकर बुझाउने कम्पनी हो नेपाल टेलिकम । सरकारी स्वामित्वको टेलिकमले सरकारलाई ८ अर्ब ७ करोड रुपैयाँ आयकर भुक्तानी गरेको छ ।

बढी आयकर बुझाउनेको तेश्रो स्थानमा छ सरकारकै स्वामित्व रहेको नेपाल आयल निगम । पेट्रोलियम पदार्थको कारोबारमा एकाधिकार रहेको निगमले गत आर्थिक वर्ष ५ अर्ब ४३ करोड रुपैयाँ आयकर दाखिला गरेको छ ।

चौथौ स्थानमा सूर्य नेपाल र पाँचौ स्थानमा नेपाल दुरसञ्चार प्राधिकरण छ । गत आर्थिक वर्ष निजी क्षेत्रको सूर्य नेपालले ५ अर्ब ३१ करोड आयकर बुझाउँदा दुरसञ्चार क्षेत्रको नियमनकारी निकाय प्राधिकरणले ३ अर्ब ८२ करोड राजस्व दाखिला गरेको छ ।

अर्थमन्त्रालयका अनुसार गत आर्थिक वर्ष बढि भ्याट बुझाउने सूचीमा भने सूर्य नेपालले एनसेललाई उछिनेको छ । सूर्य नेपालले ३ अर्ब ८७ करोड रुपैयाँ भ्याट दाखिला गर्दा एनसेलले ३ अर्ब २१ करोड रुपैयाँ तिरेको छ ।

यी दुई कम्पनीपछि सबैभन्दा बढि भ्याट नेपाल टेलिकमले बुझाएको छ । टेलिकमले गत आर्थिक वर्ष २ अर्ब ३३ करोड रुपैयाँ भुक्तानी गरेको छ । बढी भ्याट दाखिला गर्ने चौथो कम्पनी हो गोर्खा ब्रुअरी ।

निजी क्षेत्रको कम्पनी गोखौ ब्रुअरीले गत वर्ष १ अर्ब ९३ करोड रुपैयाँ भ्याट बुझाएको छ । पाँचौ स्थानमा रहेको आयल निगम गत आर्थिक वर्ष १ अर्ब ६५ करोड रुपैयाँ भ्याट दाखिला गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *