राजनीति

नक्सासम्बन्धी प्रचण्डको अभिव्यक्तिले नेकपाभित्र तरङ्ग

हिमालय टिभी
२०७७ साउन १० गते १३:१९
नक्सासम्बन्धी प्रचण्डको अभिव्यक्तिले नेकपाभित्र तरङ्ग

१० साउन, २०७७ काठमाडौं । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुको दवाबमै प्रधानमन्त्री केपी शर्मा ओली नेपालको नयाँ नक्सा छाप्न तयार भएको बताएपछि पार्टीमा तरंग आएको छ ।

ओली पक्षका नेता–कार्यकर्ता प्रचण्डमाथि खनिन थालेका छन् । हिजो पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले आफूहरुकै जोडबलमा मात्रै नयाँ नक्सा प्रकाशन गरिएको बताउनुभएको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा लामो स्टेटस लेख्दै प्रचण्डले तथ्यहीन कुरा गरेर दिउँसै रात पार्न खोजेको आरोप लगाउनुभएको छ । उहाँले आफू प्रधानमन्त्री रहेका बेला यो काम किन नगरेको भनेर प्रश्न गर्नुभएको छ ।

नक्साको विषयलाई सार्वजनिक रुपमै नेकपाका नेताले भ्रम फैलाउन खोजेको भन्दै सल्लाहकार थापाले पछिल्लो समय बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले निर्देशन दिएको अर्थ र आशयसम्म लाग्ने कुनै शब्द, वाक्य, प्रस्ताव र भनिएजस्तो निर्देशन कहींकतै नभएको दावी समेत गर्नुभएको छ ।

उहाँले केन्द्रीय कमिटीको बैठकद्वारा पारित समसामयिक प्रस्ताव समेत सार्वजनिक गरेर कुनै तथ्य र प्रमाण नभएको दावी पेस गर्नुभएको छ ।

उहाँले सन् १९६२ देखि भारतसँगको सीमा विवादयता १६ जनाले मुलुकको नेतृत्व गरेको उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नै यो काम गर्नुपरेको हो त भनेर थप प्रश्न समेत गर्नुभएको छ ।

उहाँले सरकारले सबैसँगको सल्लाह र तयारीबिना नक्सा सार्वजनिक गरेको भन्दै कसैले निर्देशन दिएको भरमा काम नभएको पनि जिकीर गर्नुभएको छ ।

थापाले कसको स्वार्थ र चाहनामा यो सब भइरहेको छ ? सरकारका विरोधीलाई विपक्षी दलका नेताको कुनै गुनासो र हीनता प्रकट नहुने, सत्ताधारी दलभित्र किन उछिनपाछिनको होडबाजी चलिरहेको छ ? अनि यो मपाईंत्व प्रदर्शन किन ? भन्दै प्रश्न गर्नुभएको छ ।

प्रदेश ५ का शंकर पोख्रेलले पनि आफू प्रधानमन्त्री हुँदा नक्साको कुरा थाहा नपाएको भन्दै पार्टी अध्यक्ष प्रचण्डको आलोचना गर्नुभएको छ । पहिले थाहा नपाउने अहिले उहाँले होइन मैले हो भन्न कसरी सकेको ? भनेर उहाँले प्रश्न गर्नुभएको छ ।

जेठ ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भारतले मिच्दै आएको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको नयाँ नक्सामा समावेश गर्ने निर्णय गरेको थियो । र, जेठ ३१ गते संसदबाट दुई तिहाईभन्दा बढी मतले नेपालको नयाँ नक्सा पास भएको थियो ।

प्रतिक्रिया

One thought on “नक्सासम्बन्धी प्रचण्डको अभिव्यक्तिले नेकपाभित्र तरङ्ग

  1. कागजमा ज़मीन फिर्ता हुँदा त यत्रो विधि!
    ज़मीन फिर्ता ल्याउने कहिले कहिले,इण्डियाले टेरपुच्छर लाएको छैन अहिलेसम्म , कथंकदाचित फिर्ता ल्याइ हाल्यो भने (विश्वास त एक रत्तिपनि छैन) यिनीहरु त कुकूर बिराला झैं लड्ने होलान् !
    व्यक्तिगत रूपमा म चाहीं अरु जे भएनि ओलीलाइ ना श्रेय दिन्छु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्