राजनीति

देव गुरुङ भन्छन– बहुदलीय जनवाद पश्चगामी र राष्ट्रिय स्वाधीनता विरोधी विचार (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ९ गते २०:२२
देव गुरुङ भन्छन– बहुदलीय जनवाद पश्चगामी र राष्ट्रिय स्वाधीनता विरोधी विचार (भिडियोसहित)

९ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेकपा भित्रको पूर्व माओवादी समूहले बहुदलीय जनवादलाई पश्चगामी र राष्ट्रिय स्वाधीनता विरोधी विचार भनेको छ ।

पार्टी भित्रको तत्कालीन एमालेको एउटा खेमाले जबजलाई राजनीतिक कार्यदिशा बनाउनुपर्छ भनिरहेका बेला नेकपा नेता देव गुरुङले त्यसविरुद्ध कडा प्रहार गर्नुभएको हो । गुरुङका अनुसार अहिले जनताको बहुदलीय जनवादको कुरा गर्नु पछाडि फर्कनु हो ।

सत्तारुढ नेकपा भित्रको ओली समूह अहिले एकाएक जनताको बहुदलीय जनवादलाई वैचारिक कार्यदिशा बनाउनुपर्छ भनेर लागेको छ । र, प्रचण्डलाई बहुदलीय जनवाद स्वीकार गरे एकल अध्यक्ष बनाउने प्रस्ताव समेत प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरिसक्नुभएको छ । तर अहिले बहुदलीय जनवादको कुरा गर्नेहरुलाई नेकपाका नेता देव गुरुङको आग्रह छ– बहुदलीय जनवाद र एक्काईसौं शताब्दीको जनवाद किन छोड्यौं भन्ने बुझ ।

जनताको बहुदलीय जनवादको कुरा गर्नेहरुले अहिले आफूलाई चर्को राष्ट्रवादी भनिरहेका छन । तर गुरुङ यसलाई मान्न तयार हुनुहुन्न । गुरुङका अनुसार नारा जे लगाएपनि बहुदलीय जनवादको विचार बोकेर देशभक्त हुन सकिदैन । किनकी उहाँकै शब्दमा यो राष्ट्रिय स्वाधीनता विरोधी र साम्राज्यवाद परस्त विचार हो ।

त्यतिमात्रै होईन, कुन कित्तामा उभिने हो र कसको सेवा गर्ने हो त्यो प्रष्ट पार्न गुरुङको जनताको बहुदलीय जनवाद पक्षधरहरुलाई चुनौती छ । किनकी कुन विचार रोज्ने भन्ने विषयले नै समाजवादमा जाने नजाने निर्धारण गर्छ । र, अहिले समाजवादमा जाने विचार भनेको जनताको जनवाद नै हो भन्ने उहाँको दावी छ ।

पछिल्लो पटक नेकपा भित्र एकाएक जनताको बहुदलीय जनवादलाई वैचारिक कार्यदिशा बनाउनुपर्ने आवाज उठिरहेको छ । र,नेकपा भित्र तत्कालीन एमाले समूहले यसलाई उठाईरहेको छ । जसबाट तत्कालीन माओवादी समूह झस्किएको छ । गुरुङको पछिल्लो अभिव्यक्ति त्यसैको परिणाम हो । यसको जवाफ जबज मान्ने त्यसमा पनि खास गरी ओली समूहले कसरी दिन्छ हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्