Main News

उद्योग वाणिज्य महासंघको साधारणसभा स्थगित भएकोमा ढकालको असन्तुष्टि

हिमालय टिभी
२०७७ साउन ९ गते १६:५०
उद्योग वाणिज्य महासंघको साधारणसभा स्थगित भएकोमा ढकालको असन्तुष्टि

९ साउन, २०७७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साधारणसभा स्थगित भएकोमा असन्तुष्टि जनाउनुभएको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी वरिष्ठ उपाध्यक्षका प्रत्यासीसमेत रहनुभएका ढकालले कार्यसमितिको बैठकको अधिकार मिचेर पदाधिकारीको आकस्मिक बैठकबाट निर्वाचनलाई अनिश्चितकालका लागि धकेलेको भन्दै असन्तुष्टि जनाउनुभएको हो ।

उहाँले साधारणसभा गर्न सक्ने अवस्था नभए कार्यसमितिको बैठक बोलाई निर्णय गर्ने समय हुँदाहुँदै कार्यसमितिको अधिकारलाई कुल्चिने काम भएको बताउनुभयो । यसले महासंघमा गलत प्रवृति विकास भएको र स्यालले कुखुरा लाग्यो भन्ने भन्दापनि स्याल पल्कियो भन्ने कुराले पिरोलेको उहाँले बताउनुभयो ।

साधारणसभा स्थगित गरेर अर्को मिति तय नगरिँदा कानूनी मात्र नभई नैतिक र सामाजिक जगसमेत कमजोर भएको ढकालले बताउनुभयो । उहाँले साढे पाँच दशक पुरानो संस्था इतिहासमै कमजोर भएको टिप्पणी समेत गर्नुभयो ।

जटिल परिस्थितिमा महासंघलाई सबल, सक्षम र डाइनामिक नेतृत्व आवश्यक रहेको भन्दै आवाज उठाउँदा पदमा पुग्न हतार गरेको आरोप आफुमाथि लागेको ढकालले बताउनुभयो ।

उहाँले कोभिड १९ को महामारीको अवस्थामा महासंघका आन्तरिक र संस्थागत गतिविधि सञ्चालन गर्दा सरकारसँग सहमति लिनु आवश्यक भएकाले साधारणसभाका लागि सरकारलाई निवेदन दिएको तर सरकारको जवाफ नआउँदै अनिश्चितकालका लागि धकेल्ने निर्णय हुनु दुःखद भएको बताउनुभयो ।

कोभिडका कारण गत चैतमा साधारणसभा हुन नसकेपछि महासंघले साउन २६ र २७ गते गर्ने निर्णय गरेको थियो । महासंघको पदाधिकारी बैठकले कोभिड १९ संक्रमणको जोखिम अझैपनि रहेको भन्दै देशमा पूर्ण रुपमा सबै क्षेत्र खुलेपछि मात्रै साधारणसभा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *