राजनीति

सत्तारुढ नेकपामा आन्तरिक विवादसँगै राजनीतिक कार्यदिशामाथि बहस शुरु (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ८ गते १९:१४
सत्तारुढ नेकपामा आन्तरिक विवादसँगै राजनीतिक कार्यदिशामाथि बहस शुरु (भिडियोसहित)

८ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेकपामा आन्तरिक विवादकै बीचमा राजनीतिक कार्यदिशाको बहस चल्न थालेको छ । पार्टी एकताका बेला तत्कालिन एमालेको जनताको बहुदलिय जनवाद र तत्कालीन माओवादीको २१ औं शताब्दीको जनवाद थाँती राखिएको थियो ।

महाधिवेशनसम्म जनताको जनवादलाई कार्यदिशा बनाउने सहमति भए पनि नेकपाको एक समुहले अहिले बहुदलिय जनवादलाई जोड दिन थालेको छ । पार्टीभित्रको विवादलाई विषायन्तर गर्न प्रधानमन्त्री ओलीले यसलाई बहसमा ल्याउन खोजेको इतर समुहको आरोप छ ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको राजिनामा माग्ने र नदिने अडानकाबीच पछिल्लो पटक एकाएक वैचारिक कार्यदिशाको प्रश्न उठ्यो । जुन निकै आश्चर्यजनक थियो, किनकी जनताको जनवाद मानेको नेकपाको कार्यदिशाको प्रश्न महाधिवेशनबाट निरुपण हुनुपर्ने विषय हो ।

तर एकाएक पदसँग वैचारिक कार्यदिशा साट्ने गरी जनताको बहुदलीय जनवादको विषय उठ्यो । खास गरी प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बहुदलीय जनवादलाई वैचारिक कार्यदिशा स्वीकार गरेमा पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको एकल अध्यक्ष बनाउने प्रस्ताव गरेपछि जबजबारे चर्चा चुलिएको छ । जुन ओली पक्षको योजनावद्ध तयारी रहेको बुझ्न सकिन्छ ।

पार्टी एकताका बेला तत्कालीन एमालेको बहुदलीय जनवाद र माओवादी केन्द्रको एक्काईसौं शताब्दीको बीचबाट जनताको जनवाद कार्यदिशा बनाइएको थियो ।

तर पनि बेला बेला नाटकीय ढंगले वैचारिक कार्यदिशाको विषय आउँछ र पूर्व एमालेहरु जनताको बहुदलीय जनवादलाई अगाडि सार्छन । ओली पक्षलाइै मात्रै होईन पार्टी भित्र ओलीसँग पेचिलो संघर्षमा रहेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि जनताको बहुदलीय त्यत्तिकै प्यारो छ ।

एकाएक बहुदलीय जनवादको विषय अगाडि सारिएपछि नेकपा भित्रको तत्कालीन माओवादी समूह झस्किएको छ । यो विषयमा प्रचण्ड सहित पूर्व माओवादी समूहकाबीचमा छलफल समेत भैसकेको छ । र, यो पक्ष प्रतिवादमा उत्रेको छ ।

यो बहस र प्रस्तावलाई विधि पद्धति विपरित भन्दै उसले जबजबारे बहस गर्ने हो भने जनताको जनवादलाई बेठिक भन्न उसको चुनौती छ । बहुदलीय जनवादको विषय अहिले असान्र्दिभक रहेको पूर्व माओवादी पक्षको ठहर छ ।

पद जोगाउने र खोस्ने रस्साकस्सीका बीच एकाएक आएको बहुदलीय जनवादलाई वैचारिक कार्यदिशा बनाउने विषय नेकपामा कसरी अघि बढ्छ, त्यसले पार्टी भित्रको अन्तर्विरोध फेरिन पनि सक्छ । तर महाधिवेशन अघि त्यो दबाबको विषय बनेमा पार्टी एकताको भविष्यमा यो पनि अर्को संकट बन्न सक्ने संभावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्