Main News

उद्योग वाणिज्य महासंघको चुनावः मतदाता तान्ने कोशिसमा चन्द्र ढकाल र किशोर प्रधान (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ७ गते २०:०५
उद्योग वाणिज्य महासंघको चुनावः मतदाता तान्ने कोशिसमा चन्द्र ढकाल र किशोर प्रधान (भिडियोसहित)

७ साउन, २०७७ काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा तथा चुनाव साउन २६ र २७ गते काठमाडौंमा हुँदैछ । महासंघको विधान अनुरुप हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्दै हुनुहुन्छ भने वरिष्ठ उपाध्यक्ष लगायतका पदमा चुनाब हुनेछ ।

वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले प्यानल नै बनाएर उमेद्धवारी घोषणा गर्नुभएको छ । र, यति बेला दुवै जना मतदाता रिझाउन व्यस्त हुनुहुन्छ ।

गत चैतमै भैसक्नु पर्ने महासंघको साधारणसभा भै कोरोना भाइरसका कारण साउनको अन्तिम साता धकेलियो । चुनावको केन्द्रमा वरिष्ठ उपाध्यक्षको पद छ किनकी जसले शेखर गोल्छापछिको अध्यक्ष को बन्ने भन्ने समेत तय गर्नेछ ।

वरिष्ठ उपाध्यक्षका लागि एशोसिएट तर्फका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र जिल्ला नगरतर्फका उपाध्यक्ष किशोर प्रधान प्रतिस्पर्धामा हुनुहुन्छ । ढकालको प्यानलबाट जिल्ला तथा नगर तर्फको उपाध्यक्षमा गुणनिधी तिवारी, वस्तुगत तर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसियट तर्फबाट रामचन्द्र शंघईको उम्मेवदारी परेको छ ।

ढकाल र प्रधान प्यानलका आ–आफ्ना एजेण्डा छन । मुलुकको समृद्धिका लागि योगदान दिन सक्षम नेतृत्व महासंघमा आवश्यक भएकाले उमेदवारी दिएको चन्द्रप्रसाद ढकालको तर्क छ । चुनावमा आफू निर्वाचित हुन किन जरुरी छ भनेर ढकाल यसरी प्रस्टाउनुहुन्छ ।

ढकालसँगको प्रतिस्पर्धामा यसअघि वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छासँग पराजित जिल्ला तथा नगर तर्फका उपाध्यक्ष किशोर प्रधान हुनुहुन्छ । प्रधानको प्यानलबाट वस्तुगतमा अन्जन श्रेष्ठ, जिल्ला नगरमा दिनेशलाल श्रेष्ठ, एसोसियटमा सौरभ ज्योति उम्मेदवार हुनुहुन्छ । गोल्छाको सर्मथन रहेको र व्यवसायीका समस्या बुझेकाले आफू निर्वाचित हुने र हुनुपर्ने प्रधानको तर्क छ ।

महासंघको आगामी नेतृत्वमा आउन दुबै पक्षले आ–आफ्ना दाबी पेश गर्दै आएका छन् । दुबै पक्षले धेरै व्यवसायीको साथ रहेको भन्दै जित्ने दाबी गर्दै आएका छन् ।

चुनावमा जसले जितेर आएपनि महासंघभित्र बढ्दै गएको गुटगत राजनीति, अपारदर्शीता जस्ता विकृति चिर्न सक्षम हुन्छन कि हुँदैनन् भन्ने द्विविधा छ । उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठनको भावी नेतृत्वमा आउने व्यक्तिले उठान गर्ने मुद्दा र राख्ने अडानले मुलुकको आर्थिक भविष्यमा भूमिका खेल्ने भएकाले महासंघको चुनावमा सबैको चासो छ । यसमा ढकाल र प्रधान कसले मन जितेर बाजी मार्ला हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *