Main News

बाढीपहिरोका कारण ५५ बढी जिल्लाको जनजीवन प्रभावित, आजदेखि बर्षा कम हुँदै जाने

हिमालय टिभी
२०७७ साउन ७ गते ९:००
बाढीपहिरोका कारण ५५ बढी जिल्लाको जनजीवन प्रभावित, आजदेखि बर्षा कम हुँदै जाने

७ साउन, २०७७ काठमाडौं । निरन्तरको वर्षापछि बाढी, पहिरो र डुबानका कारण देशभरीका ५५ भन्दा भन्दा बढी जिल्लाको जनजीवन प्रभावित भएको छ ।

पहाडका ठाउँ ठाउँमा पहिरो गएको छ । तराई क्षेत्र डुवानमा परेको छ । मुख्य राजमार्गहरू पहिरोले अवरुद्ध हुँदा यात्रा गर्न असहज भएको छ । अझै पनि ६० भन्दा बढी ठाउँमा पहिरोले बाटो रोकिएको छ ।

यस वर्ष मनसुन सुरु भएदेखि हालसम्म औसतभन्दा बढी वर्षा भएको छ । तर आजदेखि भने पश्चिम क्षेत्रबाट वर्षा क्रमशः कम हुँदै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका महानिर्देशक सरजु कुमार वैद्यले आजबाट पश्चिममा वर्षा कम हुँदै गएपनि प्रदेश १, २, गण्डकी र बागमती प्रदेशमा भने अझै केही दिन वर्षा जारी रहने जानकारी दिनुभयो । साउन चार गतेदेखि निम्नचापीय रेखा नेपालको ठीक माथि रहेकाले देशभर मध्यमदेखि भारी वर्षा भइरहेको पनि वैद्यले बताउनुभयो ।

यसैबीच, विभागको मौसम पूर्वानुमान महाशाखका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा पश्चिमि भू–भागमा नेपालबाट दक्षिण सरेको छ भने पूर्वी भूभागमा नेपाल नजिक रहेको अवस्था छ ।

विभागले आज बिहान निकालेको सूचना अनुसार आज दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *