राजनीति

प्रचण्डलाई एकल नेकपा अध्यक्ष बनाउने ओलीको प्रस्ताव, जबज स्वीकार गर्नुपर्ने शर्त (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ५ गते १९:०७
प्रचण्डलाई एकल नेकपा अध्यक्ष बनाउने ओलीको प्रस्ताव, जबज स्वीकार गर्नुपर्ने शर्त (भिडियोसहित)

५ साउन, २०७७ काठमाडौं । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकल अध्यक्ष बनाउन प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले शर्त राख्नुभएको छ ।

नेकपा भित्र पूर्व माओवादी समूहका स्थायी कमिटी सदस्यसँगको छलफलमा प्रचण्डले बहुदलीय जनवादलाई पार्टीको कार्यदिशा मानेमा ओलीले महाधिवेशनबाट एकल अध्यक्ष बनाउने प्रस्ताव राखेको जानकारी दिनुभएको हो ।

प्रचण्डको भनाई उधृत गर्दै छलफलमा सहभागी नेताले हिमालय टेलिभिजनसँग भने– उहाँहरुबाट जबज स्वीकार गरे महाधिवेशनपछि एकल अध्यक्ष बनाउने प्रस्ताव आएको छ । ’ तर आफूले ओलीको त्यो प्रस्ताव अस्वीकार गरेको र कुनै सहमति नगरेको प्रचण्डले प्रष्टिकरण दिनुभएको छ ।

पूर्व माओवादी समूहका स्थायी कमिटी सदस्यले पनि प्रधानमन्त्री ओलीको प्रस्ताव पछि फर्कनेगरी आएको भन्दै बहुदलीय जनवादलाई पार्टीको कार्यदिशाका रुपमा स्वीकार गर्न नसकिने बताएका छन् ।

पार्टी एकताका बेला तत्कालीन एमालेको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रको एक्काइसौं शताब्दीको जनवादलाई मिलाएर तत्कालका लागि जनताको जनवाद बनाउने सहमति भएको थियो । महाधिवेशनपछि मात्रै पार्टीको कार्यदिशा तय गर्ने सहमतिमा उल्लेख छ ।

यस्ता गम्भीर विषयमा छलफल गर्दा पार्टी कमिटीमा निर्णय हुनुपर्ने समेत बैठकले निष्कर्ष निकालेको छ। तर प्रचण्डलाई फकाउने क्रममा जबजलाई नै पार्टीको कार्यदिशा बनाउने प्रस्ताव ओलीबाट आएको हो ।

छलफलमा प्रचण्डले पार्टी एकताका लागि आफूले धेरै अवसर त्यागेको र अन्तिमसम्म पनि पार्टी एकता बचाउनका लागि लाग्ने बताउनुभएको छ । ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव झारा टार्ने र अहिलेको विषयलाई अन्यत्रै मोड्ने गरी ल्याइएको प्रचण्डको भनाई छ ।

ओलीको अंहकार र सहमति तोड्ने प्रवृत्तिले पार्टीमा समस्या निम्त्याएको प्रचण्डले बताएको स्रोतले जनाएको छ । ओली आफै नभई कसैको ईशारामा चल्ने गरेको प्रचण्डको दावी छ । ओलीसँग एकता संघर्ष र एकताकै बाटोमा अघि बढेको प्रचण्डले स्थायी कमिटी सदस्यहरुलाई जानकारी गराउनुभएको छ ।

नेता नेपाल र पूर्व माओवादी नेताहरुबीच भेट
खुमलटारमा प्रचण्डलाई ओलीसँग लचिलो भएर समाधान खोज्न सुझाव दिएका पूर्व माओवादी समूहका स्थायी कमिटी सदस्यले वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका छन ।

उनीहरुले दुई अध्यक्षबीच सहमति गराएर निकास खोज्न र सहज भूमिका खेल्न नेपाललाई आग्रह गरेका छन । उनीहरुले भोलिको स्थायी कमिटी बैठकमा समाधान निस्कने गरी आउन पनि सुझाव दिएका छन ।

यसका लागि नेपालले भोलिसम्म प्रचण्डसँग सघन छलफल गर्ने बताउनुभएको छ । स्रोतका अनुसार वरिष्ठ नेता नेपाल ओलीलाई दुवै पदबाट राजिनामा गराउने अडानमा अहिले हुनुहुन्न ।

ओली भन्दा प्रचण्ड काम गर्नका लागि सहज भएकाले ओलीलाई एउटा पद छोडाउन पाए हुन्थ्यो भन्ने नेपालको मत रहेको स्रोतको दावी छ । महाधिवेशनका विषयमा पनि छलफल भएको छ ।

मंसिरमा महाधिवेशन गर्न नसकिने नेपालले प्रष्ट पार्नुभएको छ । नेपालले यसलाई ओलीको विषयान्तर गर्ने प्रयास भन्नुभएको छ ।

स्रोतका अनुसार भोलि स्थायी कमिटी बैठक बस्नु अघि नै नयाँ ढंगले सहमतिको वातावरण बन्ने संभावना छ । र, त्यसका लागि दोस्रो तहका नेताहरुले प्रचण्ड र नेपाललाई दबाब दिईरहेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्