राजनीति

नेपाल–खनाललाई प्रचण्डको ब्रिफिङ : ‘ओलीसँग सहमति भएको छैन’ (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ४ गते १९:५९
नेपाल–खनाललाई प्रचण्डको ब्रिफिङ : ‘ओलीसँग सहमति भएको छैन’ (भिडियोसहित)

४ साउन, २०७७ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सहमति नगरेको प्रष्टिकरण दिनुभएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुसँग छलफल गरेर प्रचण्डले कुनै सहमति नभएको बताउनुभएको छ ।

प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गरेर गठबन्धनलाई धोका दिएको आरोप लागेपछि प्रचण्डले सचिवालय सदस्य र १४ जना स्थायी कमिटी सदस्य राखेर आफूले सहमति नगरेको र नगर्ने वचन दिनुभएको छ । छलफलपछि प्रचण्ड नेपाल गठबन्धन कायमै रहेको निष्कर्ष निकालिएको छ ।

शनिबारको सचिवालय बैठकमा प्रचण्ड निकै नरम र ओलीसँग सहमति भएको झै गरी प्रस्तुत भएपछि गठबन्धनका नेताहरु झस्के । उनीहरुले बैठकमै अर्लि महाधिवेशनको प्रतिवाद गरे । ओली र प्रचण्डबीच सहमति भएको खबर जताततै फैलियो । र, प्रचण्ड र माधवकुमार नेपाल सहित सचिवालयका बहुमत सदस्यको गठबन्धनको भत्किएको चर्चा चल्यो ।

राति नै प्रचण्डका तर्फबाट सहमति नभएको भनेर स्पष्ट पार्ने कोशिस भए पनि त्यसले काम गरेन । र, आइतबार बिहानै प्रचण्ड निवास खुमलटारमा प्रचण्ड–नेपाल गठबन्धनका शीर्ष नेताको बैठक भयो । जहाँ स्थायी कमिटी सदस्यहरु पनि सहभागी थिए ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ सहित स्थायी कमिटीका सदस्यहरुले अर्लि महाधिवेशन गर्ने ओलीको प्रस्तावमा तपाइँको पोजिसन के हो भनेर सोधे र र्‍याख र्‍याख्ती पारे । जवाफ प्रचण्डले कुनै सहमति गरेको छैन, ढुक्क हुनुस भनेर प्रष्टिकरण दिनुभयो ।

आश्वस्त पार्न प्रचण्डले ईस्यूलाई डाईभर्ट गर्न ओलीले प्रस्ताव गरेको भन्दै मंसिरमा महाधिवेशन संभव नै नभएको बताउनुभयो । प्रचण्डका अनुसार एकताका काम पुरा भएका छैनन, सदस्यता टुंगिएको छैन, विचारकै प्रश्न बाँकी छ यस्तो बेला कसरी महाधिवेशन हुन्छ ?

‘परिबन्दले राष्ट्रपतिकोमा पुगें ’

सचिवालय बैठकमा प्रस्तुतिले झस्केका प्रचण्ड–नेपाल गठबन्धनका नेताहरुको शंका त्यतिबेला अझ बलियो बन्यो जति बेला, प्रचण्ड ओलीसँगै राष्ट्रपति निवासमा पुगेको खबर बाहिरियो । आइतबारको छलफलमा यो विषय पनि उठ्यो किनकी कुरा प्रचण्ड ओलीबीच सहमति र त्यसमा राष्ट्रपति भण्डारी साक्षी बसेको विषयको थियो । नेताहरुले सोधे सहमति नगरेको भए शीतल निवास किन गएको ? यसमा प्रचण्डको उत्तर अचम्मको थियो ।

निकै भावुकताका साथ कुरा राखेका प्रचण्डले परिबन्दले त्यहाँ पुर्‍यायो, अपर्झट हो, मेरो जाने कुनै कार्यक्रम थिएन भन्नुभयो । प्रचण्डका अनुसार सचिवालय बैठकपछि प्रधानमन्त्री ओलीले छलफल गर्न चाहेको भनेर महासचिव विष्णु पौडेलको एसएमएस र त्यसपछि शीतलनिवासबाटै ओलीको फोन आयो । ‘म त यता शीतलनिवासतिर आइसकें, तपाई पनि आउनुहोस् राष्ट्रपतिज्यूले छलफल गरौं भन्नुभएको छ ।’ ओलीको भनाई उधृत गर्दै बोलेका प्रचण्डले आफ्नो कुरा राख्दै भन्नुभयो ुराष्ट्रपतिले नै बोलाएको हो भने नजाऔं पनि कसरी ?’ त्यसपछि प्रचण्ड शीतल निवास पुग्नुभयो ।

प्रचण्डले नेपाल खनाल लगायतका नेताहरुलाई भनेर अनुसार ओलीले राष्ट्रपति समक्ष सचिवालय बैठकका कुरा सरसर्ती राख्नुभयो भने राष्ट्रपतिले दुई अध्यक्ष मिल्नुपर्छ भनेर सम्झाउनुभयो । प्रचण्डले आईतवार नेताहरुलाई भनेको मान्ने हो भने, शितल निवासमा उहाँले अपमान महशुस गर्नुभयो ।

र, आफु पुरानै ठाउँमा रहेको आश्वस्त पार्दै प्रचण्डले भन्नुभयो– त्यसपछि मैले सहमति भएको छैन भनेर खण्डन गर्न लगाएँ ।’ प्रचण्डको यो कुरा छोरी गंगा दाहालको फेसबुक स्टाटसतर्फ थियो जहाँ भ्रममा नपरौं कुनै पनि विषयमा सहमति भएको छैन भनेर लेखिएको थियो ।

‘साथ छोड्दिनँ ढुक्क हुनोस्’

प्रचण्डमाथि ओलीसँग मंसिरमा महाधिवेशन गर्ने र अध्यक्ष हुने गरी सहमति गरेको आशंका छ । र, यसमा खास गरी माधवकुमार नेपाल समूह झस्केको छ, ओलीले प्रचण्डलाई गरेको प्रस्ताव त्यही प्रस्ताव थियो, जुन वरिष्ठ नेता नेपालले यसअघि नै अस्वीकार गर्नुभएको थियो ।

यो लोभमा परेको आशंका पनि प्रचण्डले हटाउने कोशिस गर्नुभयो । प्रचण्डको ब्रिफिङ अनुसर सरकार पाँचै वर्ष ओलीले चलाउने र पार्टी नेतृत्व प्रचण्डलाई दिने ओलीको प्रस्ताव छ । खुमलटार बैठकमा सहभागी नेताले प्रचण्डको भनाई उधृत गर्दै भने–अब साथीहरुको भावना, तपाईहरुको सुझावभन्दा तलमाथि गएर केही पनि हुँदैन ।

म तपाईहरुको साथमै छु, ढुुक्क हुनोस्, ओलीजीसँग कुनै सहमति गरेको छैन ।’ स्रोतका अनुसार प्रचण्डले मंसिरमा महाधिवेशन गर्ने ओलीको प्रस्तावको आलोचना गर्न नसक्नु र नरम रुपमा प्रस्तुत हुनुलाई कमजोरी भनेर स्वीकार गर्नुभएको छ ।

खुमलटार छलफलमा माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ लगायत स्थायी कमिटीका सदस्यहरुले ओलीको जालमा नफस्न र व्यक्तिगत हितलाई केन्द्रमा राखेर कुनै काम नगर्न सचेत गराएका छन ।

ओलीको प्रस्ताव केवल टार्ने मात्रै हो, समस्या समाधान गर्ने छैन, बुझ्नु होला भन्ने सन्देश सबैको प्रचण्डलाई छ । उनीहरुले चेतावनीको शैलीमा आफ्नो हितलाई केन्द्रमा राखेर पार्टीको विधि पद्धति भन्दा बाहिर काम नगर्न पनि सचेत गराएका स्रोतले जनाएको छ ।

गठबन्धन कायम रहेको निष्कर्ष

शनिबार सचिवालय बैठकबाट प्रचण्ड नेपाल गठबन्धन भत्केको आशंका थियो तर आईतवारको खुमलटार बैठकले प्रचण्डको ब्रिफिङ र नेपाल खनाल लगायतका नेताहरु सहितको मन माझामाझले गठबन्धन कायमै रहेको निष्कर्ष निकाल्यो ।

स्थायी कमिटी सदस्य रघुजी पन्त, भीम रावल, भीम आचार्य, वेदुराम भुषाल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य वर्षमान पुन, मातृका यादव, पम्फा भुषाल सहभागी खुमलटार बैठकको ठहर छ– गठबन्धन भत्केको छैन ।

शनिबार प्रचण्डले धोका दिएको भनेर आक्रोश व्यक्त गरेका एक नेताले आईतवार भने– प्रचण्ड–नेपाल गठबन्धन कायम छ, हामी प्रष्ट भयौं ।’

आईतवार खुमलटार बैठकमा वामदेव गौतम र रामबहादुर थापा सहभागी नभए पनि समर्थन छ र सल्लाहमै सबै काम भएको खुमलटार स्रोतको दावी छ ।

शनिवार नाटकीय ढंगले ओली प्रचण्ड मिलेर नयाँ मोड लियो भनिएकोमा २४ घण्टा नबित्दै स्थिति पुरानै ठाउँमा फर्केको छ । यसले फेरि एक पटक रस्साकस्सी चल्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्