राजनीति

अध्यक्ष ओलीसँग कुनै सहमति नगरेको प्रचण्डको प्रष्टिकरण

हिमालय टिभी
२०७७ साउन ४ गते १३:०२
अध्यक्ष ओलीसँग कुनै सहमति नगरेको प्रचण्डको प्रष्टिकरण

४ साउन, २०७७ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सहमति नगरेको प्रष्टिकरण दिनुभएको छ ।

वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग खुमलटारमा छलफल गर्दै प्रचण्डले ओलीसँग कुनै सम्झौता नगरेको बताउनुभएको हो ।

प्रचण्डले ओलीसँग सहमति गरेको चर्चा चलेपछि आक्रोशित नेपाल, खनाल र श्रेष्ठलाई विश्वासमा लिने प्रयास गर्नुभएको हो । केही स्थायी सदस्यसहित भएको छलफलमा प्रचण्डले छलफलका लागि महाधिवेशनको प्रस्ताव ल्याएको र कुनै सहमति नभएको बताएको स्रोतले जनाएको छ ।

प्रचण्डको भनाई उधृत गर्दै स्रोतले भन्यो–मंसिरमा महाधिवेशनमा उहाँको प्रस्ताव हो । सहमति भएको छैन र प्रस्ताव अनुसार महाधिवेशन संभव पनि छैन ।’

हिजो सचिवालय बैठकमा प्रचण्डले ओलीकै कुरामा सहमति जनाएपछि वरिष्ठ नेता नेपाल लगायतका सचिवालयका सदस्यहरु बिच्किएका छन । र, त्यसको असर तलसम्म परेको छ । ओली र प्रचण्ड मिलेको देखेपछि वरिष्ठ नेता नेपालले राष्ट्रव्यापी अभियान चलाउने चेतावनी दिनुभएको थियो ।

त्यसपछि प्रचण्डले आज नेपाल लगायतका नेताहरुसँग छलफल गर्नुभएको हो । प्रचण्डसँगको छलफलपछि भ्रम निवारण भएको सहभागी एक नेताले बताए । छलफलमा स्थायी कमिटी सदस्यहरु वर्षमान पुन, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, मात्रिकाप्रसाद यादव लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्