समाज

नहरमा पनि स्थानीयको यस्तो अतिक्रमण, अटेर गरेपछि चल्यो डोजर (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ३ गते १८:०४
नहरमा पनि स्थानीयको यस्तो अतिक्रमण, अटेर गरेपछि चल्यो डोजर (भिडियोसहित)

३ साउन, २०७७ नेपालगञ्ज । सिक्टा सिंचाई आयोजना अन्तर्गतको डुडुवा नहर अतिक्रमणमा परेको छ । नेपालगन्जका विभिन्न स्थान तथा कोहलपुर–नेपालगन्ज सडकखण्डमा नहरको जमिन अतिक्रमण गरेर पुल, कल्भर्ट, कम्पाउन्ड वाल लगायतका संरचना बनाइएको छ ।

सिक्टा सिंचाई आयोजना अन्तर्गतको नहरमा मुनि ह्युम पाइप हालेर कल्भर्ट बनाइएको छ ।

यो एक ठाउँमा मात्र छैन । नहरको किनारै किनार सडक छ । स्थानीय बासिन्दाले आफूखुसी संरचना निर्माण गरी सडकबाट नहरपारी जान नदिने बनाएका छन् । जसका कारण नहरबाट किसानको खेतसम्म पानी पुर्‍याउन सिक्टा सिचाई आयोजनालाई हम्मे हम्मे परेको छ ।

डुडुवा नहर ०२६ सालमा बनेको थियो । नहर बनाउँदा ३० मिटर जग्गा अधिग्रहण गरिएको थियो । डुडुवा नहरको किनारमा बनाइएको सडकको स्तरोन्नती गरेर कोहलपुर नेपालगन्ज चार लेन सडक निर्माण गर्दा नहरको केही क्षेत्र अतिक्रमणमा पर्‍यो ।

त्यसपछि बचेको नहरको क्षेत्रमा बिभिन्न ब्यक्ति तथा उद्योगले पुल कल्भर्ट, कम्पाउन्ड वाल बनाएका छन् । अतिक्रमण बढ्दै गएपछि पछिल्ला दिनमा डुडुवा नहर एउटा सानो नालामा परिणत भएको छ । त्यसैले जिल्ला प्रशासन कार्यालय बाँकेको सहयोगमा आयोजनाले अतिक्रमित संरचना हटाउन थालेको छ ।

अतिक्रमण गरेर बनाइएका संरचना भत्काएर किसानको खेतबारीसम्म सहज रुपमा पानी लगिने छ । सरकारी सम्पत्तिको संरक्षण गर्ने कार्यलाई अभियानकै रुपमा अघि बढाइने छ ।

सिक्टाको मुल नहरबाट करिब साढे १८ हजार लिटर प्रति सेकेन्ड पानी छाडेर डुडुवा शाखा नहरबाट १६ हजार हेक्टर जमिन सिचाइ गर्ने योजना छ । साढे २३ किलोमिटर लामो डुडुवा नहरको स्तरोन्नत्ति गरेर यसमा क्षमता अनुसार पानी बगाउन आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *