Main News

सोमबारदेखि पाँच दिन भारी वर्षाको संभावना, पहिरोको उच्च जोखिम (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २ गते १८:२५
सोमबारदेखि पाँच दिन भारी वर्षाको संभावना, पहिरोको उच्च जोखिम (भिडियोसहित)

२ साउन, २०७७ काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सोमबारदेखि पाँच दिन देशभर भारी वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

मनसुन सुरु भएयता परेको पानीले पहाड र चुरे क्षेत्रका अधिकांश भू–भाग कमजोर भएकोले अब पाँच दिन पर्ने पानीले पहिरोको सम्भावना बढेको विभागले जनाएको छ ।

नेपालमा प्रमुख प्राकृतिक विपत्ति मध्ये बाढी पहिरो प्रमुख हो । यसले ठूलो धनजनको क्षति गर्दै आएको छ । पछिल्लो पाँच वर्षमा मात्र एक हजारभन्दा बढीको ज्यान गैसकेको छ ।

त्यतिकै संख्यामा घाइते छन र कयौं बेपत्ता भएका छन । यो वर्ष पनि यसले जनधनको क्षति गरिसकेको छ । र, सोमबारदेखि पाँच दिन भारी वर्षाको सम्भावना रहेकोले क्षति हुने जोखिम छ ।

पहाडी क्षेत्रहरु पहिरोको उच्च जोखिममा छन् । त्यसैले सतर्क रहन भूगर्भविद्को सुझाव छ । भुगोलविद्का अनुसार जमिन चिरा परेको, रुख ढल्किएको ठाउँमा पहिरोको उच्च जोखिम हुन्छ । त्यसैले नागरिक आफै पनि सजग हुनु पर्छ ।

मनसुन सुरु भएपछि जेठ ३० गतेदेखि असार २७ सम्म ३० दिनमा मनसुनजन्य विपद्का घटनाबाट १ सय १० जनाको मृत्यु भएको छ । ३२ जना बेपत्ता छन् । १ सय ३२ जना घाइते छन् ।

पहिरोका कारण ८१, चट्याङबाट १७, सर्पदंशले १० र बाढीका कारण २ जनाको ज्यान गएको छ । विभिन्न ३३ जिल्लामा विपदबाट मानवीय क्षति भएको छ । ६० जिल्लामा विपद्का घटना भएका छन् । र संभावित जोखिम मध्य नजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आवश्यक तयारी गरिरहेको छ ।

विपत्ति रोक्न नसकेपनि मानवीय क्षति भने न्युनिकरण गर्न सकिन्छ । त्यसमा आम नागरिकै सबैभन्दा बढी चनाखो हुनु पर्छ । पहिरोको संकेत देखिनासाथ सुरक्षित स्थानमा स्थानान्तरण हुने, सुरक्षा तथा उद्धारकर्मीलाई समयमै खबर गर्ने गरेमा जोखिम कम हुन सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *