Main News

बाँध फुटेपछि मेलम्चीको सुरुङ्ग परीक्षण रोकियो, काठमाडौंमा पानी आउन समय लाग्ने (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार ३१ गते २०:००
बाँध फुटेपछि मेलम्चीको सुरुङ्ग परीक्षण रोकियो, काठमाडौंमा पानी आउन समय लाग्ने (भिडियोसहित)

३१ असार, २०७७ काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ्ग परीक्षण रोकिएको छ । परीक्षणको क्रममा सिन्धुपाल्चोकको अम्बाथानस्थित १७ नम्बर बाँध फुटेसँगै परीक्षण रोकिएको हो । र मेलम्ची काठमाडौ आउने समय फेरि पछि धकेलिएको छ ।

सरकारले अबको दुई महिनाभित्रै मेलम्चीको पानी काठमाडौंमा झार्ने भन्दै असार २१ गतेदेिख सुरुङ्गमा पानी पठाएर परीक्षण शुरु गरेको थियो । तर परीक्षणकै क्रममा अम्बाथानको १७ नम्बर बाँध फुट्यो ।

बाँध फुटेर एक जना कर्मचारीको मृत्यु भयो एक बेपत्ता र दुई जना घाइते भए । बाँध फुट्दा भएको क्षतिको विवरण संकलन भइरहेको छ । पानीको बहाव थाम्न नसकेर बाँध फुटेको अनुमान छ ।

यो बाँध अब फेरि बनाउन कति समय लाग्छ त्यो पनि एकीन छैन । यो घटना बारे छानबिन गर्न खानेपानी तथा सरसफाइ मन्त्रालयले ६ जना प्राविधिक विज्ञसहितको छानबिन टोली गठन गरेको छ ।

टोलीले बाँध फुट्नुको कारण पत्ता लगाएर क्षतिको विवरण निकाल्ने छ । तर त्यो विवरण आउनुअघि नै मेलम्चीको पानी काठमाडौं आउने समय फेरि पछि थकेलिएको निश्चित छ ।

सरकारले अबको दुई महिनामा पानी काठमाडौंमा झार्ने भने पनि अब कहिले झर्छ एकीन छैन । दुर्घटनापछि अहिले मेलम्चीको अस्थायी बाँधबाट सुरुङमा पानी हाल्न पूर्ण रुपमा बन्द गरिएको छ । अब सुरुङ खाली गरेर बाँध निरीक्षण गरेपछि मात्रै फेरि पानी हालिने छ ।

काठमाडौंका बासिन्दाले मेलम्चीको पानी खाने सपना देखेको ३० वर्ष पुगेको छ । तर पनि यो सपना पूरा हुन पाएको छैन । सुरुङ्ग परीक्षणकै क्रममा दुर्घटना भएकाले आयोजना निर्माणमा भएको संरचनागत त्रुटिलाई सच्चाउने अवसर त आएको छ । तर यसले आयोजनाको कामप्रति भने प्रश्न उठेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *