राजनीति

प्रधानमन्त्री ओलीले शासन गर्ने नैतिक र राजनीतिक आधार गुमाएको कांग्रेसको निष्कर्ष (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार ३१ गते १९:५४
प्रधानमन्त्री ओलीले शासन गर्ने नैतिक र राजनीतिक आधार गुमाएको कांग्रेसको निष्कर्ष (भिडियोसहित)

३१ असार, २०७७ काठमाडौं । राम जन्मभूमिबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार र सत्तारुढ नेकपाको आधिकारिक धारणा मागेको छ । कांग्रेसले विज्ञप्ति निकालेर सरकार र सत्तारुढ नेकपाको धारणा मागेको हो । यदि यो मत सरकार र नेकपाको नभए ओलीले शासन गर्ने नैतिक र राजनीतिक आधार गुमाएको कांग्रेसको निष्कर्ष छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असार २९ गते राम जन्म भूमिबारे नयाँ मत सार्वजनिक गर्नुभयो । पर्साको ठोरीमा राम जन्मेको ओलीको दावी छ । ओलीको यो अभिव्यक्तिले भारत र नेपालमा ठूलो तरंग ल्यायो, समर्थन र विरोधमा मत आए ।

भारतमा समेत आलोचना भएपछि मंगलबार परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको स्टेटमेन्ट राजनीतिक नभएको प्रष्टिकरण दियो । तर विवाद सेलाउनुको साटो बढिरहेको छ, यही मेसोमा बुधबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार र नेकपालाई सोधेको छ – ओलीको अभिव्यक्ति नेकपा र सरकारको हो कि होइन ?

देशको प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकारकै संस्थागत अभिव्यक्ति हो कि होइन ? अनि उहाँको दल नेकपा पार्टीको विश्वास बमोजिमको हो होइन ?

कांग्रेसले राम जन्मभूमिबारे प्रधानमन्त्रीको अभिव्यक्तिलाई अपरिपक्व र असंवेदनशील भनेको छ । कांग्रेसको ठहर छ– नक्सा अनुरुपको जमिनमा हक स्थापित गर्न गम्भीर कुटनैतिक पहलकदमी भन्दा अयोध्याबारे विवादास्पद मत व्यक्त गर्नुको अर्थ विषयको गम्भीरताप्रति प्रधानमन्त्री गम्भीर हुनुहुन्न् भन्ने पुष्टि त भएको छ नै अपरिपक्व टिप्पणी मार्फत उहाँले संवेदनशील विषयमा असंवेदनशील ब्यवहार प्रस्तुत गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले नयाँ नक्सा जारी गरेपछि आफूलाई भारतले हटाउन खोजेको, आफनै पार्टीसहित अरु नेताहरु पनि हटाउने खेलमा लागेको आरोप लगाउनुभएको छ । तर कांग्रेसले त्यसलाई अस्वीकार गरेको छ । सर्वसम्मतिले देशको नयाँ नक्सा संसदबाट जारी भएपछि प्रधानमन्त्रीको दायित्व के हुन्छ ? भन्दै कांग्रेसले गम्भीर कुटनैतिक पहलकदमी गर्न छोडेर नक्सालाई सत्ता राजनीतिको ब्यक्तिगत हतियारका रूपमा उपयोग गर्न खोजेको कांग्रेसको गम्भीर आशंका छ ।

यति मात्रै होइन, नेपाली कांग्रेसले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र व्यवहारका विषयमा गम्भीर प्रश्न उठाएर प्रधानमन्त्री, सरकार र सत्तारुढ नेकपामाथि निशाना साँधेको छ । प्रधानमन्त्रीको कार्यशैलीप्रति कांग्रेसको गम्भीर असहमति छ ।

आजको परिस्थितिमा प्रधानमन्त्रीको दायित्व एकातर्फ, ब्यवहार अर्कातर्फ रहेको कांग्रेसको निष्कर्ष छ । उसका अनुसार यो देशका लागि दुर्भाग्य भएको छ ।

कांग्रेसको प्रश्न छ– देशको प्रधानमन्त्रीका अभिव्यक्तिहरुले नेपाल देश र सम्बन्धित दलको प्रतिनिधित्व गर्दैनन् भने प्रधानमन्त्री पद ब्यक्तिको जमिन्दारी कि देशको जिम्मेवारी ?

आजको परिस्थितिमा प्रधानमन्त्रीको दायित्व एकातर्फ, ब्यवहार अर्कातर्फ रहेको कांग्रेसको निष्कर्ष छ । उसका अनुसार यो देशका लागि दुर्भाग्य भएको छ । र, यो दुर्भाग्यपूर्ण अवस्था सुधार्ने जिम्मा नेकपाको भएको तर्फ गम्भीर ध्यानाकर्षण गरेको छ ।

उसको नेकपालाई प्रश्न छ, प्रधानमन्त्री नेकपाको हो कि होइन ? प्रधानमन्त्री पद देशको संस्कार, संविधान र संवेदनशीलता भन्दा पर ब्यक्तिगत सनकको कैदी बन्न मिल्दैन । संस्थागत जिम्मेवारीभन्दा अलग निर्दलीय आधिपत्य प्रधानमन्त्री पदमा संविधानले परिकल्पना गरेको छैन । अतः प्रधानमन्त्रीको सोच, शैली, अभिव्यक्ति र ब्यवहार सम्पूर्ण रुपले बदल्ने या प्रधानमन्त्रीनै बदल्ने, उहाँकै दल नेकपाको विषय हो ।

तर प्रधानमन्त्रीका अभिव्यक्ति र कार्यशैलीको जिम्मेवारी नेकपा र सरकारले लिन्छ लिन्न भन्नेमा कांग्रेसको चासो छ ।

नेकपा र सरकारले के उत्तर देलान अहिले नै भन्न सकिन्नँ । तर कांग्रेसले यो अभिव्यक्तिबाट प्रधानमन्त्रीले शासन गर्ने नैतिक र राजनीतिक आधार गुमाएको निष्कर्ष निकालेको छ । कांग्रेस भन्छ( प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकार र नेकपाको मत होइन भने शासन गर्ने नैतिक र राजनैतिक आधार उहाँले गुमाएको थप पुष्टि हुन्छ ।

कांग्रेसको यो प्रश्नको जवाफ दिनु सरकार र नेकपालाई सजिलो छैन भनेर परराष्ट्रमन्त्रालयको विज्ञप्ति र सत्तारुढ नेकपा भित्रै देखिएको मतभेदले प्रष्टै हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्