आर्थिक

उत्पादन विक्री गर्न नपाउँदा समस्यामा धनकुटाका दुग्ध किसान (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार ३१ गते १७:३९
उत्पादन विक्री गर्न नपाउँदा समस्यामा धनकुटाका दुग्ध किसान (भिडियोसहित)

३१ असार, २०७७, धनकुटा । पछिल्लो समय धनकुटामा दुग्ध उत्पादन ब्यवसायप्रति किसानको आकर्षण बढ्दो छ । तर लकडाउनका कारण दुग्धजन्य उत्पादनले बजार नपाउँदा किसानलाई यो पेसा निल्नु ओकल्नु भएको छ ।

लकडाउन अघि धनकुटामा दैनिक ४५ हजार लिटर दूध उत्पादन हुने गरेको थियो । त्यस मध्ये १० हजार लिटर घरमै खपत हुने गरेको थियो । बाँकी ३५ हजार लिटर दुध विक्री गरेर किसानले आय आर्जन गर्ने गरेका थिए ।

जसबाट धनकुटाका किसानले मासिक ४ करोड २० लाख रुपैँया आम्दानी गर्दै आएका थिए । तर अहिले अवस्था त्यस्तो छैन । किसानले दुध बेचेर आम्दानी गर्नु त टाढाको कुरा पशुलाई आहार पुर्‍याउनसमेत समस्या हुन थालेको छ ।

धनकुटाका सबै दुग्ध संकलन केन्द्रले लकडाउनको कारण बजारमा दूध खपत हुन छाडेको भन्दै संकलन गर्ने कार्य बन्द गरेको छ । अन्य जिल्ला दुध निकासी गर्ने जीवन विकास संस्था तथा कामधेनुले समेत दूध लैजान छाडेपछि समस्या भएको हो । त्यस्तै विराटनगरस्थित दुग्ध विकास संस्थानले पनि कहिले दुध लिने कहिले नलिने गर्दा समस्या भएको किसान बताउँछन् ।

धनकुटाबाट निर्यात हुने घ्यू, छुर्पी, पनिर पनि लकडाउनका कारण बनाउनै छाडिएको छ । वार्षिक १२ मेट्रिक टन घ्यू, १६ मेट्रिक टन छुर्पी, ३ दशमलव ५ मेट्रिक टन पनिर उत्पादन हुने गरेको थियो । दुग्धजन्य परिकारमध्ये छुर्पी र चीज सबै र घ्यू तथा पनिर पनि ९० प्रतिशत जिल्लाबाहिरै खपत हुने गरेको छ । छुर्पीको बजार भने अमेरिका हो । लकडाउनका कारण छुर्पी विदेश निर्यात समेत बन्द भएको छ ।

अवस्था थप प्रतिकुल बन्दै गए पछि कतिपय पशुपालक किसान त पेसाबाटै पलायन हुने अवस्थामा पुगेका छन् । उनिहरुले यहि पेसामा रहि रहन अहिलेको विषम परीस्थीतिमा विशेष राहतको व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *