बालविवाह घटाउन जन्मने बित्तिकै बालिकाको बीमा, कति सफल ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार ३१ गते १७:१६
बालविवाह घटाउन जन्मने बित्तिकै बालिकाको बीमा, कति सफल ? (भिडियोसहित)

३१ असार, २०७७, रुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिकाले बालिका शिक्षा र बालविवाह घटाउन बीमा कार्यक्रम संचालन गरेको छ । बेटी बचाउ, बेटी पढाउ अभियानअन्तरगत गाउँपालिकाले कार्यविधि नै बनाएर बालिका बीमा सञ्चालन गरेपछि बालविवाहमा कमी आउने विश्वास लिइएको छ ।

कानूनले २० वर्ष नपुग्दै विवाह गर्न नपाइने व्यवस्था गरे पनि पूर्ण पालना हुन सकेको छैन । बालविवाह अन्त्यका लागि भन्दै रुपन्देहीको गैडहवा गाउँपालिकाले फरक खालको कार्यक्रम संचालन गरेको छ । यहाँ बालिका जन्मने बित्तिकै बिमा गरिन्छ । स्वास्थ्य संस्थामा जन्मिएकी बालिकाको ३ महिनाभित्र गाउँपालिकाले २० हजार र अभिभावकबाट ५ हजार गरी २५ हजार रुपैंया बैंकमा जम्मा गर्दै आएको छ । बालिका २० वर्ष पुगेपछि मात्र यो रकम झिक्न पाइन्छ । र निकाल्ने बेला ३ लाखभन्दा बढी हुन्छ ।

२० वर्ष नपुग्दै बालिकाले बिहे गरे त्यो रकम गाउँपालिकाकै खातामा जम्मा हुने कार्यविधिमा उल्लेख छ । बीमा सञ्चालनका लागि गाउँपालिकाले चालु वर्षमा छुट्याएको ५० लाख बजेट सबै खर्च हुन सकेन । आगामी आर्थिक वर्षका लागि १५ लाख बजेट छुट्याइएको छ । बालिका बीमा सञ्चालन गरेपछि गाउँपालिकामा हुने बालविवाह र महिला हिंसाका घटनामा कमी आएको गाउँपालिकाको दाबी छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७५–७६ मा २१ जना र २०७६–७७ मा ६७ जना बालिकाको बीमा गरेको छ । बालिकालाई बीमा गर्न सरकारबाट मान्यता प्राप्त स्वास्थ्य सेवामा प्रसुती गराउनु पर्नेछ । जसले गर्दा मातृ र शिशु मृत्युदरमा पनि कमी आउने विश्वास छ ।

बालविवाह अन्त्यको लागि हुने कोठे कार्यक्रममा बर्षेनी अर्बौ रुपैयाँ खर्च हुने गरेको छ । तर गैडहवा गाउँपालिकाले सञ्चालन गरेको बालिका बीमा कार्यक्रमले भने कम रकममै रचनात्मक काम गर्न सकिन्छ भन्ने देखाएको छ । यसले बाल विवाह न्युनिकरणमा सहयोग गर्ने मात्रै नभइ बालिकाको भविष्यका लागि पनि आर्थिक मद्दत पुग्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *