Main News

मध्य राजधानीमा बग्ने टुकुचा संरक्षण गर्ने सरकारको तयारी (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार २९ गते १३:०४
मध्य राजधानीमा बग्ने टुकुचा संरक्षण गर्ने सरकारको तयारी (भिडियोसहित)

२९ असार, २०७७ काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको मध्य सहरमा बग्ने टुकुचा खोलाको संरक्षण गर्ने भएको छ ।

बगबजारस्थित टुकुचा खोलाको स्थलगत अवलोकन गर्दै सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मन्त्रालयको ट्रिटमेन्ट प्लान अनुसार टुकुचा खोलाको व्यवस्थापन गरिने बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा टुकुचा खोला व्यवस्थापनका लागि २० करोड रुपैयाँ बजेट छुट्याइएकाले छिट्टै कामलाई अगाडि बढाइने बताउनुभयो ।

मानन्धरले ६ किलोमिटरको टुकुचा खोलाको संरचनालाई प्राकृतिक रुप दिने गरी काम हुने स्पस्ट पार्नुभयो । उहाँले टुकुचा खोलाको दायाँ बायाँ किनारालाई व्यवस्थित बनाइने बताउनुभयो ।

अधिकार सम्पन्न एकीकृत बागमती आयोजनाका प्रमुख लिलाप्रसाद ढकालले टुकुचा खोलाको दायाँ र बाँयाँ ढल निकास गर्ने र खोलामा शुद्ध पानी मात्र बगाउने योजना अनुसार एसियाली विकास बैंकसँग मिलेर काम गरिने बताउनुभयो । उहाँले बागमती प्रदेशका सांसद केशब स्थापितले सांसद विकास कोषबाट डेमोस्ट्रेसन गर्नुभएको र त्यसलाई हेरेर एडीबीको सहयोगमा डीपीआर तयार गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।

टुकुचा खोलाको व्यवस्थापन हुने भएपछि स्थानीयहरु पनि उत्साहित भएका छन् । खोलामा बढ्दै गएको प्रदुषणलाई कम गर्ने र सफा पानी बगाउने भएकाले आफुहरुले पनि सहयोग गर्ने स्थानीयले बताएका छन् । स्थानीय मधुसुदन तण्डुकारले कसैलाई पनि असर नगर्नेगरी खोलालाई सफा पार्ने काम अगाडि बढाउन आफुहरुको पूर्ण सहयोग रहने बताउनुभयो ।

खोलाको व्यवस्थापनका लागि सरोकारवाला र स्थानीयसँगको छलफलपछि डीपीपआरलाई अन्तिम रुप दिइने भएको छ । सुन्दर सहरका लागि टुकुचाको व्यवस्थापन अनिवार्य भएकोले दीर्घकालिन योजना सहति काम गरिरहेको एकीकृत बागमती अयोजनाले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *