Main News

बाढीपहिरोबाट वर्षेनी ठुलो जनधनको क्षति, सरकार योजनाविहीन (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार २८ गते २०:१६
बाढीपहिरोबाट वर्षेनी ठुलो जनधनको क्षति, सरकार योजनाविहीन (भिडियोसहित)

२८ असार, २०७७ काठमाडौं । विगत धेरै बर्षदेखिनै मनसुन सुरु भएसँगै हुने विपत्तिका घटनाले धेरै सर्वसाधारणको ज्यान जाने तथा अर्बौंको सम्पत्ति गुमे पनि त्यस्ता घटना रोक्न सरकारसँग कुनै लक्षित योजना भएको पाइँदैन । विगत एक महिना यता मनसुनले निम्त्याएका प्राकृतिक विपत्तिका घट्नाबाट मुलुकका विभिन्न १९ जिल्ला धेरै प्रभावित भएका छन् ।

सात वर्षमा मात्र त्यस्ता विपत्तिका घट्नामा परी १ हजार ३ सय भन्दा बढी मानिसले ज्यान गुमाएका छन् भने १८ अर्बभन्दा बढीको क्षति भएको सरकारी तथ्यांक छ। वर्षेनी यस्ता घट्नाबाट सरदर दुईसय जनाको मृत्यु हुने गरेको सरकारी तथ्याङ्क यस्तो रहेता पनि घट्ना न्यूनीकरण गर्न सरकारले अझै कमजोरी देखाइरहेको छ।

संखुवासभामा आइतबार झिसमिसेमा पहिरोमा पुरिएर ११ जना बेपत्ता भए । यसअघि शुक्रबार राति पहिरोमा परेर म्याग्दीमा १७ जनाको मृत्यु भयो भने १२ जना बेपत्ता भए । बुधबार राति सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोमा परेर २ जनाको मृत्यु भयो भने २१ जना अझै बेपत्ता छन् ।

पछिल्ला दिनमा बाढी पहिरोबाट भएका यी केही उदाहरणीय घटना हुन् । पछिल्लो एक महिनाको तथ्यांक केलाउने हो बाढी पहिरोमा परेर १ सय जनाको मृत्यु भइसकेको छ भने त्यति नै जना वेपत्ता छन् । एक हप्तामा ६६ ठाउँमा पहिरोले १२ ठाउँमा बाढीले क्षति गरेकोछ ।

बाढी पहिरोबाट क्षति भएको यो वर्ष पहिलो हैन । हरेक वर्ष देशमा बाढी पहिरोले जनधनको क्षति गर्ने गरेको छ । र यो क्षति बढ्दो छ । पछिल्लो ७ वर्षमा एक हजार ३ सय ४० जनाले मनसुन जन्य घट्नामा परेर ज्यान गुमाउनु परेको छ, पाँच सय भन्दा बढी बेपत्ता छन् भने झण्डै ८ सय जना जना घाइते भएका छन् । र यो ७ वर्षको अवधिमा १७ अर्बभन्दा बढीको धनमालमा क्षति पुगेको सरकारी तथ्यांक छ ।

२०७० सालमा २१० जनाले मनसुनजन्य घट्नामा परी ज्यान गुमाए भने १५५ जना बेपत्ता भए । यतिमात्र होइन ५८ जना घाइते भए। र त्यतिबेला १८ करोड भन्दा बढीको धनमाल नस्ट भएको तथ्याङ्क गृहमन्त्रालयसँग छ ।

यस्तै २०७१ मा ज्यान गुमाउनेको संख्या बढेर २४५ पुग्यो र बेपत्ताको संख्या पनि बढेर २६२ बेपत्ता भयो । यो वर्ष १३२ जना घाइते भएको सरकारी तथ्याङ्क छ । उक्त साल भौतिक रुपमा धेरै क्षति भएको थियो । २०७१सालमा झण्डै १५ अर्ब भन्दा बढीको क्षति भएको थियो ।

२०७२ सालमा ज्यान गुमाउनेको संख्यामा केही कमी आएको थियो । २०७२ सालमा १३५ जनाको मृत्यु भएको थियो भने १६ जना बेपत्ता भएका थिए र ९५ जना घाइते भएका थिए। २०७२ सालमा मनसुनजन्य घट्नाबाट १ करोडको हाराहारीमा मात्र क्षति भयो ।त्यो वर्ष देशले भूकम्पको महाविपत्ति सामना गर्नु परेको थियो । भूकम्प लगत्तै मनसुन शुरु भए पनि विगतभन्दा जनधनको क्षति कम भयो ।

२०७३ सालमा फेरि ज्यान गुमाउनेको संख्या बढ्यो । २४८ जनाको मृत्यु भयो भने ४५ जना बेपत्ता र एक सय ६१ जना घाइते भएको तथ्याङ्क छ । २०७३ सालमा भने भौतिक क्षतिको मात्रा बढ्यो र ८३ करोड भन्दा बढीको धनमाल नस्ट भयो ।

२०७४ सालमा २४१ जनाले बाढी पहिरोमा परी ज्यान गुमाउँदा ५७ जना बेपत्ता भए र ८८ जना घाइते भएका थिए । उक्त वर्ष ८ करोडको हाराहारीमा भौतिक क्षति भएको सरकारी आँकडा छ ।

२०७५ सालमा मनसुनजन्य घट्नाबाट ज्यान गुमाउनेको संख्यामा केही कमी आयो । ७५ सालमा १०५ जनाको मृत्यु हुँदा बेपत्ताको संख्या ५ मात्र थियो । तर १६३ जना घाइते भएका थिए। र २०७५ सालमा १२ करोड भन्दा बढीको धनमाल क्षति भएको थियो ।

गएको वर्ष मनुसनको समयमा १ सय ५६ जनाले ज्यान गुमाए । ३८ जना बेपत्ता भए र १०० जना घाइते भए। यतिमात्र होइन गएको वर्ष साढे १ अर्ब बराबरको क्षति भएको गृहमन्त्रालयको तथ्यांक छ ।

र यो वर्ष पनि गएको एकमहिनामा मात्र एक सय जनाभन्दा बढीको ज्यान गइसकेको छ । र यो संख्या बढ्न सक्ने सम्भावना धेरै छ । सरकारले विपद व्यवस्थापनका लागि भन्दै ऐन पनि बनाएको छ । तर वर्षेनी मनसुनजन्य घट्नाबाट हुने क्षति न्यूनीकरणमा सरकारले प्रभावकारी काम गर्न सकेको देखिन्छ न ज्यान गुमाउनेको संख्या घटाउन । र यसको कारण सरकारको कमजोर कार्यान्वयन नीति नै रहेको विपद व्यवस्थापन विज्ञको बुझाइ छ ।

विज्ञ मात्र होइन स्वयम सरकारी अधिकारी नै मनसुनजन्य घट्ना न्यूनीकरणमा आफूहरु चुकेको स्वीकार्छन् ।

प्रकोपलाई रोक्न सकिन्न । तर त्यसबाट सिर्जित मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न पक्कै सकिन्छ । जसका लागि सरकारले ऐनमा भएको व्यवस्था अनुरुपमा संयन्त्रहरुको प्रभावकारी कार्यान्वयन गर्नुका साथै जोखिमयुक्त बस्तीहरुको पहिचान गरी सुरक्षित स्थानान्तरणका कामलाई तीब्रता दिनुको विकल्प छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *