समाज

जोखिम टरेको भनिए पनि दाङ हुँदै सलह फेरि नेपाल प्रवेश

हिमालय टिभी
२०७७ असार २८ गते १८:०८
जोखिम टरेको भनिए पनि दाङ हुँदै सलह फेरि नेपाल प्रवेश

२८ असार, २०७७ काठमाडौं । सरकारले सलहको जोखिम हटेको भने पनि दाङ हुँदै आज फेरि सलहका झुण्ड नेपाल प्रवेश गरेका छन् ।

भारतको उत्तर प्रदेशका सितापुर तथा बहराइच क्षेत्रमा रहेका सलहका झुण्डमध्ये एउटा झुण्ड बिहान साढे नौ बजे दाङको गढवा गाउँपालिकाको २ र ३ वडामा प्रवेश गरेको हो ।

त्यो झुण्ड दिउँसो १ बजेतिर राप्ती नगरपालिकाको लालमटिया क्षेत्रको आकाशमा देखिएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जानकारी दिएको छ ।

दाङमा देखिएको यो सलहले प्यूठान अर्घाखाँचीलगायत अन्य छिमेकी जिल्लामा पुगेर नोक्सान गर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि केन्द्रले आग्रह गरेको छ । सलहलाई बालीमा बस्न नदिन धुँवा लगाउने, टिन–थाल ठटाएर जसरी पनि बालीबाट भगाउन केन्द्रको सुझाव छ ।

भारतको बिहार र उत्तरप्रदेशमा अझै पनि सलह सक्रिय रहेकाले प्रदेश १, २ र पाँचमा सलहको जोखिम कायम छ । दुईहप्ताअघि नेपाल छिरेका अधिकांश सलह भने मरिसकेको केन्द्रले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *