Main News

मनसुन सुरु भएको एक महिनायता विपद्का घटनामा ८८ जनाको मृत्यु, ३५ जना बेपत्ता

हिमालय टिभी
२०७७ असार २८ गते १२:३५
मनसुन सुरु भएको एक महिनायता विपद्का घटनामा ८८ जनाको मृत्यु, ३५ जना बेपत्ता

२८ असार, २०७७ काठमाडौं । मनसुन सुरु भएपछिको एक महिनामा विपद्का घटनामा ८८ जनाको ज्यान मृत्यु भएको छ । ३५ जना बेपत्ता रहेका छन् ।

मनसुनपछिको विपद्ले देशका १९ जिल्ला बढी प्रभावित भएका छन् । अहिलेसम्म म्याग्दी, सिन्धुपाल्चोक, पर्वत, बझाङ, कास्की, जाजरकोट, पाल्पा, लमजुङ, गुल्मी, झापा, चितवन, सल्यान, कालीकोट, सुर्खेत, गोरखा, स्याङ्जा, बाग्लुङ, डोटी र दार्चुला बढी प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

गएको जेठ ३० गते मनसुन सुरु भएपछिका ३० दिनमा ८८ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै म्याग्दीमा २७, पर्वत र जाजरकोटमा ९,९, बझाङ र कास्कीमा ७,७ जना, गुल्मीमा ५, पाल्पा र लमजुङमा ४, ४ जना, सिन्धुपाल्चोकमा ३ जनाको ज्यान गएको प्राधिकरणको तथ्याङ्क छ ।

त्यस्तै रुकुम पश्चिम र दार्चुलामा २, २ जना, गोरखा, स्याङजा, बाग्लुङ, डोटी, सल्यान, कालिकोट, सुर्खेत, झापा र चितवनमा एक एक जनाले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै भेलपहिरोले क्षति पुर्‍याएको छ । सिन्धुपाल्चोकमा २०, म्याग्दीमा ४, जाजरकोटमा ५ जना बेपत्ता रहेका प्राधिकरणले जनाएको छ ।

बझाङको कालंगा र बर्दियाको बबई नदीमा दुई, दुई गरी ४ जना बेपत्ता भएका छन् । तराईका विभिन्न जिल्लामा डुबान र कटानको समस्या रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *