Main News

नेपालमा कोरोनाबाट थप ३ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३८ पुग्यो, संक्रमित १६७१९ पुगे

हिमालय टिभी
२०७७ असार २७ गते १६:३३
नेपालमा कोरोनाबाट थप ३ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३८ पुग्यो, संक्रमित १६७१९ पुगे

२७ असार, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप तीनजनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार काठमाडौंको संखमुल, काठमाडौंको गोकर्णेश्वर र सिन्धुपाल्चोकको पाँचपोखरीका गरी तीनजना पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं ठेगाना भएका २ र सिन्धुपाल्चोकका एक पुरुषको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं महानगरपालिका १० संखमुलका ६० वर्षका पुरुषको असार २६ गते मृत्यु भएको हो । फोक्सोमा पानी जमेको र मृगौला रोगको कारण असार १६ गते पाटन अस्पताल भर्ना भएको ती पुरुषमा १७ गते स्वाव संकलन गरी परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।


यस्तै काठमाडौंकै गोकर्णेश्वर नगरपालिका ४ का ५४ वर्षका पुरुषको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो । मृगौलाका विरामी ती पुरुषको २५ गते निधन भएको हो । असार १९ गते ती पुरुष अस्पताल भर्ना भएका थिए । २१ गते स्वावको नमुना संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

यस्तै सिन्धुपाल्चोक पाँचपोखरी ६ का ४५ पुरुषको पनि २५ गते नै निधन भएको छ । असार १८ गते क्षयरोगको उपचारका लागि पाटन अस्पताल भर्ना भएका उनीमा २२ गते कोरोना पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

नयाँ संक्रमित
शनिबार ७० जना नयाँ संक्रमित थपिएका छन् । शनिबारसम्म कुल संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ । विभिन्न अस्पतालका आइसोलेसनमा ८ हजार २ सय ३९ जना संक्रमित उपचाररत रहेका छन् ।

परीक्षण घटाउँदै सरकार
सरकार पछिल्लो केही दिनयता कोरोनाको पीसीआर परीक्षण घटाउँदै लगेको छ । हरेक दिन साढे ४ हजारको औषतमा परीक्षण गरिरहेको सरकारले शनिबार ३ हजार ६ सय ४८ जनाको मात्रै पीसीआर विधिबाट कोरोना परीक्षण गरेको छ । आजसम्म पीसीआर विधिबाट २ लाख ७९ हजार ५ सय ९९ जनाको पीसीआर परीक्षण भएको छ । अहिले देशभरका क्वारन्टिनमा २४ हजार ९७ जना रहेका छन् । शनिबार ४ सय ३१ गरी आजसम्म ८ हजार ४ सय ४२ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *