Main News

जम्बुमा बेपत्ताको खोजी जारी, एकको जीवितै उद्धार

हिमालय टिभी
२०७७ असार २७ गते १५:१२
जम्बुमा बेपत्ताको खोजी जारी, एकको जीवितै उद्धार

२७ असार, २०७७, चौतारा । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बुमा बुधबार राति गएको बाढीपहिरोले बेपत्ता भएका २० जनाको खाजीकार्य जारी रहे पनि लगातारको वर्षाले सडक अवरुद्धका कारण कठिनाइ उत्पन्न भएको छ ।

आज पनि बेपत्ताको खोजी राजधानीबाट आएका २५ जनाको उद्धारटोलीसहितका सुरक्षाकर्मीबाट भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । लगातारको वर्षाले आएको बाढीपहिरोबाट जिल्लामा हालसम्म ५२ घरमा क्षति पुगेको छ ।

जम्बुका विस्थापित ३० परिवारका लागि स्थानीय पालिकासँग समन्वय गरी जिल्ला विपद् व्यवस्थापन समितिबाट ३० थान त्रिपाल, म्याट्रेस, भाँडाकुँडा र लत्ताकपडा पठाइसकेको प्रजिअ ढकालले जानकारी दिनुभयो ।

यसैबीच शुक्रबार बिहान आएको बाढीपहिरोबाट भोटेकोशी गाउँपालिकाको लार्चामा बेपत्ता भएका एक व्यक्ति स्थानीय ४० वर्षीय नाङचे मगरको जीवितै उद्धार गरिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफलेले जानकारी दिनुभयो । उहाँको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उक्त घटनामा दुई सामान्य घाइते भएका थिए । जिल्लामा बेपत्ताको सङ्ख्यामा २१ पुगेको प्रहरीले जनाएको छ ।

बढीले क्षतिग्रस्त जुरे सडक खोल्ने प्रयास
लगातारको वर्षाले बुधबार राति आएको सुनकोशी नदीको बाढीले कटान गरेको अरनिको राजमार्गको जुरेमा सडक खुलाउने काम भइरहेको छ । बाढीले सम्पूर्ण भाग कटान गरेको करिब १५० मिटर सडक भित्ताको कडा चट्टान काटेर डाइभर्ट गरी निर्माणकार्य भइरहेकाले आज बेलुकासम्म सम्पन्न गरिने सडक डिभिजन कार्यालय दोलखाका डिभीजन इञ्जीनियर विजयकुमार महतोले जानकारी दिनुभयो ।

हिजो अपराह्नदेखि शुरु भएको उक्त काम आज बिहानैदेखि पुनः शुरु गरिएको छ । उक्त सडक सञ्चालन भएपछि बाह्रबिसेसम्मको आवागमन सहज हुनेछ । भोटेकोशीको कटान र पहिरोबाट खोर्सानीबारीदेखि माथिका विभिन्न ठाउँमा सडक अवरुद्ध भएकाले आवतजावतमा कठिनाइ उत्पन्न भएको छ । बाढीले बाह्रबिसेको खागदलखोला र भोटेकोशी गाउँपालिका–५ को बुलकोटेमा पक्की पुल बगाएकाले दुई बेलिब्रिज राख्ने विषयमा विभागमा पहल भइरहेको डिई महतोले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *