Main News

एक जना पदाधिकारी रहेको समावेशी आयोगद्वारा एक आर्थिक वर्षको सबै बजेटबाट गाडी खरिद

हिमालय टिभी
२०७७ असार २६ गते १९:०५
एक जना पदाधिकारी रहेको समावेशी आयोगद्वारा एक आर्थिक वर्षको सबै बजेटबाट गाडी खरिद

२६ असार, २०७७ काठमाडौं । राष्ट्रिय समावेशी आयोगले एक आर्थिक वर्षको बजेट गाडी खरिदमै सकेको छ । आयोगमा एक जना पदाधिकारी मात्रै भए पनि रकम भने गाडी खरिदमा सकिएको छ ।

५ जना पदाधिकारी र एक सचिव समेतका लागि ६ वटा गाडी खरिदमा कुल बजेटको ७० प्रतिशत रकम खर्च भएको छ । एकजना मात्रै पदाधिकारी रहेको आयोगले आर्थिक वर्ष ०७५–०७६ को बजेट गाडी खरिदमै सकेको हो ।

०७५–०७६ मा आयोगको ७ करोड ३ लाख २० हजार बजेटमा ४ करोड ९७ लाख ५ हजार १ सय रुपैयाँ गाडी खरिदमै सकिएको छ । आयोगका सचिव हरि बखतीका अनुसार आयोगले ५ थान हुण्डा क्रेटा, १ थान एसयुभी ५००, ४ थान मोटरसाइकल र २ थान स्कुटर खरिद गरेको छ ।

संसदको महिला तथा सामाजिक समितिमा भएको छलफलमा आयोगका कार्यबाहक अध्यक्ष विष्णुमाया ओझाले जिम्मेवारीमा आउनुभन्दा पहिले नै सबै गाडी खरिद भएको बताउनुभयो । पदाधिकारी बिहीन आयोगमा अनावश्यक गाडी खरिद भएको देख्दा भित्रभित्रै मन पोलेपनि भन्ने ठाउँ कतै नपाएको उहाँको गुनासो छ ।

आयोगले कार्यालय सञ्चालनका लागि १२ थान कम्प्युटर, ९ थान प्रिन्टर, ५ थान ल्यापटप, आठ थान सोफासेट र २ सेट मोबाइल लगायतका सामग्री किनेको छ ।

२०७५ साल चैतमा अध्यक्षमा नियुक्त शान्तराज सुवेदीले २०७६ साउनमा राजीनामा दिएपछि आयोग कार्यबाहक अध्यक्षको भरमा चलेको छ । सांसदहरुले पदाधिकारी नै नभएको आयोगमा गाडी खरिदमा ठूलो रकम खर्च भएको असन्तुष्टि जनाएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *