Main News

बाढीपहिरोका कारण विभिन्न जिल्लामा दश जनाको मृत्यु, म्याग्दीमा ३२ जना बेपत्ता

हिमालय टिभी
२०७७ असार २६ गते १२:४८
बाढीपहिरोका कारण विभिन्न जिल्लामा दश जनाको मृत्यु, म्याग्दीमा ३२ जना बेपत्ता

२६ असार, २०७७ काठमाडौं । हिजोदेखि लगातार परिरहेको पानीले देशका विभिन्न ठाउँमा वितण्डा मच्चाइरहेको छ । म्याग्दी, कास्की र लम्जुङमा पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ ।

लमजुङमा पहिरोले घर पुरेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। अरु ६ जना घाइते भएका छन् । बेसीसहर नगरपालिका वडा नम्बर ७, सातबीसमा गएराति पहिरोले घर पुर्दा ३२ वर्षीय दीपक तामाङ, उहाँकी पत्नी २५ वर्षीया बिमायाँ तामाङ र ९ वर्षीय छोरा सेवाङ तामाङको मृत्यु भएको बेसीसहरका नगरप्रमुख गुमान सि‌ंह अर्यालले जानकारी दिनुभयो ।

कास्कीका तीन ठाउँमा आएको पहिरोमा परी पाँचजनाको मृत्यु र १२ जना घाइते भएका छन्। पोखरा महानगरपालिका–१८ सराङकोटको गोठादीमा पहिरोले सबैभन्दा बढी क्षति बनाएको छ।

राति करिब साढे २ बजे माथिबाट झरेको पहिरोले स्थानीय टंकबहादुर थापाको घर पुरिँदा सोही घरका सदस्य र पाहुना भई आएका चारजनाको मृत्यु भएको छ। नौजना घाइतेलाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको प्रहरीलाई उदृत गर्दै हाम्रा सहकर्मी विमल तिवारीले जनाएका छन् ।

थापाको घरमा बिहीबार साँझ जन्मदिन मनाउने कार्यक्रम रहेकाले घरमा कति जना थिए र को–को थिए भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका–२५ हेम्जामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै पोखरा–१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट आएको पहिरोमा परी मगरसहित उहाँकी श्रीमति शान्ति र छोरा सुशान मगर घाइते भएका छन् । अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको छ ।

म्याग्दीमा ३२ जना बेपत्ता
म्याग्दीका विभिन्न ठाउँमा पहिरोमा परेर ३२ जना बेपत्ता भएका छन् ।

धौलागिरि, मालिका र मंगला गाउँपालिमा खसेको पहिरोमा परेर ३२ जना बेपत्ता भएको र धनजनको क्षतिबारे अनुसन्धान भइरहेको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले जानकारी दिनुभयो ।

म्याग्दीको धवलागिरी गाउँपालिकामा १९ जना वेपत्ता भएका छन् । गाउँपालिकाकी अध्यक्ष थमसरा पुनले धवलागिरी गाउँपालिकामा १९ जना बेपत्ता भएको बताउनुभयो । उहाँले गाउँपालिकाका विभिन्न स्थानमा पहिरो जाँदा उद्धारमा समस्या आएको पनि जानकारी दिनुभयो । धौलागिरिकै ताकममा २ जनाको ज्यान गइसकेको छ ।

मालिका गाउँपालिकामा पनि ८ जना हराइरहेकाा छन् । मंगला गाउँपालिकामा समेत गरी ३२ जना हराइरहेको खबर आएको प्रहरीले जनाएको छ । ठाउँ-ठाउँमा पहिरो खसेर बाटो छेकेका कारण उद्दारमा जानसमेत अबरोध भएको छ । तस्वीरः प्रतिकात्मक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *