Main News

नेपालमा भारतीय टेलिभिजन च्यानल प्रसारण बन्द

हिमालय टिभी
२०७७ असार २६ गते ७:५२
नेपालमा भारतीय टेलिभिजन च्यानल प्रसारण बन्द

२६ असार, २०७७ काठमाडौं । टेलिभिजन सेवा प्रदायकहरूले भारतीय न्युज च्यानलको नेपालमा प्रसारणमा रोक लगाएका छन् ।

नेपालविरुद्ध भ्रामक प्रचार गरेको तथा ग्राहकले बन्द गर्न आग्रह र दबाब दिएका कारण प्रसारण बन्द गरिएको सेवा प्रदायकहरूले बताएका छन् । कूटनीतिक सम्बन्ध नबिग्रियोस् र भ्रम नफैलियोस् भनेर भारतीय न्युज च्यानल प्रसारण बन्द गरिएको उनीहरूको भनाइ छ ।

टेलिभिजन सेवा प्रदायकहरूले भारतीय न्युज च्यानल बन्द गर्ने सम्बन्धमा सूचना तथा सञ्चार मन्त्रालयमा समेत राय मागेका थिए । भ्रम फैलाउने च्यानल बन्द गर्न ग्राहकले दबाब दिएको भन्दै उनीहरूले के गरौँ भनेर सोधेका थिए । मन्त्रालयले इच्छाअनुसार गर्न र प्रसारण बन्द गरे पनि आपत्ति नभएको जवाफ दिएको थियो ।

डिस होमका प्रबन्ध निर्देशक सुदीप आचार्यले ग्राहकहरूले भारतीय न्युन च्यानल बन्द गर्न आग्रह गरेका कारण प्रसारण बन्द गरिएको बताउनुभयो। भारतबाट प्रसारण हुने न्युज च्यानलबाहेक अन्य च्यानलहरूको प्रसारणमा भने रोक लगाइएको छैन ।

प्रधानमन्त्री केपी ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर जी न्यूजलगायत भारतीय न्यूज च्यानलले भ्रम फैलाएपछि भारतीय मिडियाले पित पत्रकारिता गरेको भन्दै नेपालमा चौतर्फी आलोचना भइरहेको छ ।

यसैबीच सरकारले नेपालको विषयमा अनर्गल प्रचार गर्ने भारतीय सञ्चार माध्यममाथि राजनीतिक र कानुनी उपचार खोज्ने जनाएको छ ।

यसैबीच नेपाल पत्रकार महासंघले पनि विज्ञप्ति निकालेर भारतीय टेलिभिजनको प्रचार असत्य, भ्रामक र कपोलकल्पित भएको जनाएको छ । विज्ञप्तिमा भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लो स्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक रहेको उल्लेख छ ।

भारतीय सञ्चारमाध्यमले गरेको यो प्रचार पीत पत्रकारिताको नमुना हुनुका साथै प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको समेत महासंघको ठहर छ ।
नेपालले आफ्नो अतिक्रमित भूमिलाई समेटेर नयाँ नक्सा जारी गरेसँगै भारतीय मिडियाले नेपालबारे लगातार अनर्गल प्रचारवाजी गर्दै आएका छन् ।

भारतीय मिडियामा आइरहेका नेपालविरोधी सामग्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नोटिसमा लिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

यसैबीच भारतका लागि नेपाली राजदूत निलामबर आचार्यले यस विषयमा भारत सरकारलाई मौखिक रुपमा जानकारी गराउनु भएको दूतावासले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *