Political Hightlights

निरन्तर स्थगित हुँदै आएको नेकपा स्थायी कमिटी बैठक आज पनि अनिश्चित

हिमालय टिभी
२०७७ असार २६ गते ७:५०
निरन्तर स्थगित हुँदै आएको नेकपा स्थायी कमिटी बैठक आज पनि अनिश्चित

२६ असार, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज पनि बोलाइएको छ । तर यसअघि चार पटकसम्म स्थगित हुँदै आएको बैठक आज पनि बस्ने नबस्ने टु‌ंगो छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक बैठक छल्दै आएपनि आजको बैठक प्रचण्डले सञ्चालन गर्ने गरी बोलाउने तयारी छ ।

आजको बैठकमा विवाद समाधानका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले दुईमध्ये एक पदबाट राजीनामा दिनुपर्ने औपचारिक प्रस्ताव स्थायी समिति बैठकमा पेस गर्ने तयारी भएको छ।

आज बिहान ११ बजे बोलाइएको बैठकअघि कुनै समझदारी नभएमा ओलीले एक पदबाट राजीनामा दिनुपर्ने प्रस्ताव पेस हुने एक सचिवालय सदस्यले बताएका छन् ।

अहिलेको बटमलाइन नै ओलीको राजीनामा भएकाले आज बस्ने बैठकमा सो प्रस्ताव एजेन्डाको रुपमा प्रस्तुत गर्ने ओली इतरका नेताहरुको तयारी छ । यसलाई ओलीले अटेर गरे विधानअनुसार पार्टीले निर्णय गर्ने प्रचण्ड नेपाल समूहको तयारी छ ।

पछिल्ला दिन ओली र प्रचण्डबीच भेटमा कुरा सुन्ने र सुनाउने मात्र काम भएको भन्दै अब बस्ने स्थायी समिति बैठकले निकास दिनैपर्ने दवाव बढेको छ । स्थायी कमिटी बैठकमा राजीनामा माग भएपछि पार्टी विभाजित हुने चेतावनी ओलीले दिइसक्नु भएको छ ।

यसैबीच दोस्रो तहका नेताहरुले अध्यक्षद्वयसँग छुट्टा छुट्टै भेटवार्ता गर्दै छन् । कृषिमन्त्री घनश्याम भुषालको नेतृत्वमा दोस्रो तहका नेताहरुले पार्टी एकताका लागि हस्तक्षेपकारी भुमिका खेल्न लागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्