Main News

बाह्रविसेमा बाढीले बगाएका दुई शव फेला, १८ जना अझै बेपत्ता

हिमालय टिभी
२०७७ असार २५ गते १३:०२
बाह्रविसेमा बाढीले बगाएका दुई शव फेला, १८ जना अझै बेपत्ता

२५ असार, २०७७ चौतारा । सिन्धुपाल्चोकको बाह्रविसेमा अविरल वर्षासँगै आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । १८ जना बेपत्ता भएका छन् ।

भोटेकोशीमा आएको बाढीले जम्बु बजारमा ठूलो क्षती गरेको छ । जम्मु बजार जाने सबै बाटो अवरुद्ध भएको बाह्रविसेका नगरपालिकाका प्रमुख निमाफुन्जो शेर्पाले जानकारी दिनुभयो ।

शेर्पाका अनुसार बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने बेपत्ता भएका १८ जनाको खोजि कार्य जारी छ । जम्बुका २३ वर्षीय निकेश बस्नेत र उहाँकी ३ वर्षीया छोरीको मृत्यु भएको हो । बाढीले एक दर्जनभन्दा बढी घर बगाएको छ ।

अरनिको राजमार्गको ड्याम, जुरे, साधीखोल्सा, जलेटार ब्यारेक क्षेत्र, बाह्रबिसे चौकीछेउको भाग र खाग्दलदेखि जम्बु बजारसम्मको सडक–पुल बाढीले बगाएपछि जनजीवन अस्तव्यस्त बनेको छ । बाह्रबिसे बजारछेउको ढिस्को खस्न थालेपछि तटीय क्षेत्रका स्थानीय त्रासमा छन् ।

बाढीले निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी हाइड्रोपावरमा अर्बौंको क्षति पुगेको छ । एकजना चिनियाँ प्राविधिक बेपत्ता भएको आयोजनाका सीईओ मणिकुमार काफ्लेले जानकारी दिनुभयो । बेपत्ताको खोजि र उद्दारका लागि सभामुख अग्नि सापकोटासहित गएको नेपाली सेनाको हेलिकोप्टर प्रतिकुल मौसमका कारण धुलिखेलबाटै फिर्ता भएको छ ।

बाढीले अरनिको राजमार्गको विभिन्न स्थानमा क्षती पुर्याएको छ । जुरे नजिकबाटै अरनिको राजमार्ग अवरुद्ध भएको छ । अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ ।
त्यसभन्दा करिब आधा किलोमिटर अगाडि वडा नम्वर ५ र ८ को बीचमा पनि केही घरहरु बाढीले बगाएको नगर प्रमुख शेर्पाले जानकारी दिनु भयो ।

भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलका अनुसार बर्कुटे भन्ने स्थानमा एक परिवार वेपत्ता भएको छ । परिवारका चार जना सदस्य रहेको र खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली बोलाइएको उहाँको भनाइ छ । डाडे खोलाको पुल पनि बाढीले बगाएको छ । १० दिनको एक शिशु र अर्का एक बच्चाको उद्धार गरिएको छ ।

माथिल्लो तटीय क्षेत्रमा भोटेकोशी केहीबेर थुनिएको र बाँध फुटेर आकस्मिक बहाव आएको हुन सक्ने अनुमान बाढी सूचना केन्द्रले गरेको छ । केन्द्रले भोटेकोशी–सुनकोशी नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *