Political Hightlights

विपक्षी कांग्रेस र जसपाबीच गठबन्धन बनाउने प्रयास (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार २४ गते २०:१३
विपक्षी कांग्रेस र जसपाबीच गठबन्धन बनाउने प्रयास (भिडियोसहित)

२४ असार, २०७७ काठमाडौं । पछिल्लो समय सत्तारुढ नेकपाभित्रको आन्तरविरोध समाधानको प्रयास भइरहेको छ । तर सत्ताकै नेतृत्व गरिरहेको दलभित्रको विवादले सिंगो राजनीति तरंगित छ ।

यसको असर संसददेखि कोरोना नियन्त्रणको प्रयासमा पनि परेको छ । यतिबेला नेकपाभित्रको विवादका कारण सरकारले चालिरहेका गैरजिम्मेवार कदमकाविरुद्ध प्रतिपक्षी दलले गठबन्धन बनाउन खोजिरहेका छन् ।

सत्तारुढ नेकपाभित्रको विवादले राष्ट्रिय राजनीतिममै हलचल छ । देशकै बागडोर सम्हालेको पार्टीभित्रको कलहले कुनसम्मको स्थितिको सृजना गर्नसक्छ भन्ने संसद अधिवेशनको अन्त्यले देखाएको छ ।

र सत्तारुढ दलभित्रको विवादले समग्र देशकै गतिमा ब्रेक लगाउन खोजिरहेको स्थितिमा प्रतिपक्षी दलहरुको भूमिका खोजी हुँदैछ । जुन स्वाभाविक हो । र त्यही भूमिका निभाउन प्रतिपक्षी दल लागी परेका छन् ।

केही समय देखि नागरिकता लगायतका मुद्दामा सरकारसँग रुष्ट उनीहरु अप्रत्यासित रुपमा संसदअधिवेशन अन्त्य भएपछि त एलाइन्सनै बनाएर सरकारविरुद्धको मोर्चाबन्दीमा लागेका छन ।

मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा जनता समाजवादी र कांग्रेस शीर्ष नेतृत्वबीच सरकारका पछिल्ला कदमबिरुद्ध एक भएर जाने सहमति बनेको छ ।
कांग्रेस सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला जसपाका अध्यक्ष महन्थ ठाकुरर उपेन्द्र यादव तथा वरिष्ठ नेता बाबुराम भट्टराई र राजेन्द्र महतो सहभागी बैठकमा सरकारका कामबारे गम्भीर समीक्षा भएको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार मंगलबारको छलफलमा पनि दुई दलका शीर्ष नेतृत्वबीच नागरिकता विधेयक र त्यस सम्बन्धमा राज्य व्यवस्था समितिले गरेको निर्णयका विषयमा छलफल भयो ।

औपचारिक निर्णय नै नगरेपनि कांग्रेस जसपाको पोजिसन नागरिकता विधेयकका सम्बन्धमा समान छ । नागरिकता विधेयकमा सबैभन्दा पेचिलो वैवाहिक अंगीकृत नागरिकताका सम्बन्धमा कांग्रेस र जसपा एक ठाउँमा छन । उनीहरु नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई विवाह गरेर आए लगत्तै नागरिकता दिनुपर्ने पक्षमा छन् ।

तर राज्य व्यवस्थासमितिबाट ७ वर्षे समयसीमा राखेर विधेयकको प्रतिवेदन पारित भएको छ । जसलाई उनीहरुले स्वीकारेका छैनन् । र देशका विभिन्न ठाउँमा प्रदर्शन पनि गरिरहेका छन् । अहिले सरकारविरुद्ध एलाइन्स बनाएर अगाडि बढ्न चाहेका यी दुई दल मधेशको सेन्टिमेन्ट हातमा लिएर सरकारविरुद्ध मोर्चाबन्दी गर्न खोजिरहेका छन ।

यसबाहेक दुई दलबीच समान धारणा बनेको अर्को विषय हो संसदको अधिवेशन अन्त्य । थुप्रै महत्वपूर्व विधेयकहरु पारित गर्नै पर्ने अवस्था भएपनि सरकारले आफ्नो दलभित्रको विवादका कारण संसदलाई निष्कृय बनाएकोमा उी दुवै दलको आपत्ति छ । त्यसैले प्रतिपक्षी यी दुई दल मिलेर विशेष अधिवेशन बोलाउने हो की भन्ने विषयमा पनि छलफल गरिरहेका छन् । तर निर्णयमा भने पुगेका छैनन् ।

सरकारको कुटनीतिक भूमिकाप्रति पनि उनीहरुको असन्तुष्टि छ । किनकी दुई छिमेकी मुलुकबीचको कुटनीतिलाई लिएर सरकारका तर्फबाट आएका अभिव्यक्तिले नेपालको कुटनीतिक छविमा प्रश्न उठाएको उनीहरुको ठहर छ । किनकी दलविशेषको आन्तरिक राजनीतिले समग्र देशको कुटनीतिक छबिमा आँच आउनु नहुनेमा उनीहरुको समान धारणा छ ।

यतिबेला नेपाल र समग्र विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको दल दिन दुई गुणा रात चौगुणा बढिरहेको छ । तर सरकारको ध्यान जनता बचाउने तर्फ नभइ कुर्सी बचाउने तर्फ लागेको छ ।र यसमा जनता निकै आक्रोशित छन् । र जनताको यही सेन्टिमेन्ट बुझेका प्रतिपक्षी दलले यही मुद्दालाई पनि सरकारविरुद्ध मोर्चाबन्दी बनाउने हतियार बनाउन खोजरहेका छन् ।

निशानछाप फेर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा निशर्त समर्थन गरेका कांग्रेस र जनता समाजवादी पार्टीका संविधानकै केही प्रावधानमा असहमति छन् । र, संविधान संशोधनमा दबाब उनीहरुको अर्को एजेण्डा हुन सक्छ ।

प्रतिपक्षी दलरुबीचको यो मोर्चाबन्दी यदी साँच्चै प्रयोग हुने हो भने शक्तिको आडमा जनताको भावनासँग खेल्न खोजेको भनेर आरोप खेपिरहेको सरकार र स्वयम् नेकपालाई पनि केही हदसम्म झड्का लाग्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्