Main News

सामाजिक दुरीको धज्जी उडाउँदै प्रधानमन्त्रीका समर्थक सडकमा (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार २४ गते १९:५२
सामाजिक दुरीको धज्जी उडाउँदै प्रधानमन्त्रीका समर्थक सडकमा (भिडियोसहित)

२४ असार, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौं सहित देशका विभिन्न ठाउँमा आज प्रदर्शन भएको छ । प्रदर्शनकारीले भारतको दबाबमा ओलीलाई हटाउन थालिएको भन्दै राजीनामा माग्नेलाई भारतीय दलाल भनेका छन् ।

मुख्य शहरमा पनि आज प्रधानमन्त्रीको समर्थनमा जुलुस निकालिएको छ । यसरी जुलुस निकाल्दा सामाजिक दुरीको भने ख्याल राखिएको छैन ।

केही दिनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा देशका ठाउँ ठाउँमा प्रदर्शन भैरहेको छ । र, बुधवार पनि प्रदर्शन हुने थाहा पाएपछि नेकपाका कार्यकारी अध्यक्षले विहानै ओलीलाई फोन गरेर आफू सहितका नेता विरुद्धको प्रदर्शन रोक्न आग्रह गर्नुभयो ।

तर प्रचण्डको आग्रहको कुनै सुनुवाई भएन । बरु हिजो अस्ति भन्दा ओलीको पक्षमा व्यवस्थित र संगठित ढंगले प्रदर्शन भयो । प्रदर्शनकारीको माग छ–ओलीलाई हटाउन पाइँदैन, राजीनामा माग्न पाइँदैन ।

काम नगरेको ठहर सहित ओलीको राजिनामा माग्नेप्रति ओली समर्थकको चर्को आक्रोश छ । नामै नलिएपनि ओलीको राजिनामा माग्ने प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका नेता उनीहरुका नजरमा भारतीय दलाल हुन । ओलीले जसरी आफूलाई भारतले हटाउन खोजेको र त्यसमा पार्टीका नेता नै संलग्न रहेको आरोप लगाउनुभएको छ, त्यसमा प्रदर्शनकारी समूह पुरै विश्वस्त छ र वैचारिक रुपमा प्रशिक्षित पनि ।

कोरोना संक्रमण नियन्त्रण गर्न सरकार असफल भयो भन्दै प्रदर्शन गर्नेप्रति अनेकौं प्रश्न उठाउने गरिएको छ । तर प्रधानमन्त्रीको समर्थन गरेर सडकमा उत्रनेलाई भने सबै छुट छ । ओलीको समर्थनमा उत्रनेले संक्रमणबाट जोगिन न त सामाजिक दुरी पालना गरेका छन् न त अन्य मापदण्ड नै अपनाएका छन् । जबकी अहिले काठमाण्डौ उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा छ ।

केही दिन यता भइरहेका यस्ता प्रदर्शनले ओलीको पक्षमा उत्रिँद सबै छुट पाइन्छ भन्ने मान्यता स्थापित गर्न खोजिदैछ । उपत्यकामा संक्रमण बढिरहँदा सामाजिक दुरीको धज्जी उडाउँदै भइरहेका यस्ता प्रदर्शनको विज्ञले पनि विरोध गरेका छन् । कोरोनाले प्रधानमन्त्रीका समर्थक र विरोधी कसैलाई पनि छाड्दैन भन्नेतर्फ सरकारमा बसेकाहरुले पनि ध्यान दिनु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *