Main News

नेपालमा थप २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या १६४२३ पुग्यो

हिमालय टिभी
२०७७ असार २४ गते १६:३२
नेपालमा थप २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या १६४२३ पुग्यो

२४ असार, २०७७, काठमाडौं । नेपालमा थप २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालका विभिन्न २५ वटा प्रयोगशालामा भएका परीक्षणमा २ सय ५५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा कुल संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले बुधबार २ सय ५३ जना संक्रमित डिस्चार्ज भएको बताउनुभयो । यो सँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ । बुधबार ४ हजार ६ सय ९६ गरी आजसम्म पीसीआर विधिबाट २ लाख ६६ हजार ४ सय ५७ जनाको कोरोना परीक्षण भएको छ ।

अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा ८ हजार ६ सय ३६ जना उपचाररत रहेका छन् । क्वारेन्टिनहरुमा २५ हजार ४० रहेका छन् ।

सरकारले स्थानीय तहहरुबाट शुल्क लिने स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई कारवाहीको चेतावनी दिएको छ । केही स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले कोरोना परीक्षण गरेबापत शूल्क लिइरहेको खबर आएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ । सरकारले प्रयोगशालाको सम्पूर्ण परीक्षण खर्च व्यहोर्ने भएकाले स्थानीय तहबाट पैसा नउठान आग्रह गरेको हो ।

त्यसैगरी देशभरका ७७ जिल्लामा फैलिएको कोरोना संक्रमण पाँच जिल्लामा संक्रमण शून्य देखिएको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्लामा संक्रमण शून्य देखिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *