Political Hightlights

पार्टी जोगाउन धर्नादेखि हस्ताक्षर संकलनमा नेकपाका केन्द्रीय सदस्यहरु ! (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार २२ गते २०:२८
पार्टी जोगाउन धर्नादेखि हस्ताक्षर संकलनमा नेकपाका केन्द्रीय सदस्यहरु ! (भिडियोसहित)

२२ असार, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्यहरु पार्टी फुटलाई जोगाउन नेतृत्वलाई दबाब दिने उद्देश्यका साथ धर्नामा बसेका छन् ।

सदस्यहरुले केन्द्रीय कमिटी बैठकबाट पार्टीभित्रको सम्पूर्ण समस्याको समाधान हुने भन्दै हस्ताक्षर अभियान पनि थालेका छन् । पर्सि बस्ने स्थायी कमिटी बैठक अगावै नेतृत्वलाई बुझाउने र समस्याको समधान खोज्ने उनीहरुको तयारी छ ।

असार १९ गतेदेखि केन्द्रीय कार्यालय धुम्बाराहीमा धर्नामा बसेका केन्द्रीय सदस्यको प्रष्ट बुझाइ छ, पार्टीभित्रको विवाद हल गर्न नेतृत्व असफल भयो अनि पार्टी र सरकार बदनाम भयो । त्यसैकारण पार्टी फुटको संघारमा छ । पार्टी जोगाउने एक मात्र उपाय हो, केन्द्रीय कमिटीको बैठक बसेर छलफल गर्ने ।

त्यसैकारण धर्नामा बसेका केन्द्रीय सदस्य बैठकको माग गर्दै हस्ताक्षर अभियानमा छन् । देशभर गैरहेको पार्टी विभाजनको सन्देश रोक्न उनीहरुले हरसम्भव प्रयास गरिरहेका छन । नेकपाका केन्द्रीय नेतादेखि कार्यकर्तामा चिन्तामा छन । पार्टीको विवाद सडकसम्म पुगेको छ । त्यसैले चार सय ४५ केन्द्रीय सदस्यले नै साझा एजेण्डा बनाएर २४ गतेसम्म हस्ताक्षर बुझाउने तयारी गरेका छन् ।

न सम्बन्ध न सम्बन्ध विच्छेदको अवस्थामा छन, नेकपाका शीर्ष नेताहरु । तर पार्टी नेतृत्वलाई मिल्न चर्को दबाब छ, नेता कार्यकर्ताले क्षमा दिने पक्षमा छैनन् । कार्यकर्ताले बनाएको पार्टी भएकाले नेतृत्वको अहमता चल्न नदिने उनीहरुको रणनीति छ ।

नेकपा नेतृत्वको दुई समूह अहिले एक अर्कोलाई गलाउने रणनीतिमा छन् । ओलीको दुवै पदबाट राजीनामा मागेको पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल समुह र दुवै पद नछोड्ने प्रधानमन्त्री ओली समुह आ–आफ्नै अडानमा छन । तर केन्द्रीय सदस्यहरु पार्टीलाई व्यक्तिले नभई विधानले चलाउने ठाउँमा ल्याउने अठोटमा छन ।

नेकपाभित्रको लडाई विधि पद्दति अनुसार पार्टी चलेन भन्ने नै हो । त्यसैले नेतृत्वले समयमै ध्यान दिएर पार्टीलाई ट्रयाकमा ल्याउनु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्