Main News

नेकपा विवादमा चिनियाँ राजदूतको सक्रियता किन ? हस्तक्षेप भएको भन्दै विरोध ! (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार २२ गते २०:१९
नेकपा विवादमा चिनियाँ राजदूतको सक्रियता किन ? हस्तक्षेप भएको भन्दै विरोध ! (भिडियोसहित)

२२ असार, २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र विवाद बढ्दै जाँदा नेपालका लागि चिनियाँ राजदूतको सक्रियता बढेको छ । चिनियाँ राजदूत होउ याङ्छीले नेकपाका वरिष्ठ नेता एवं अहिलेको विवादका एक पक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ ।

तर उहाँले राष्ट्रपति र प्रधानमन्त्रीसँग समेत भेट गरेको चर्चा छ । र, यो आलोचनाको विषय बन्न पुगेको छ । सामाजिक सञ्जालमा चिनियाँ राजदूतको सक्रियताको आलोचना गर्दै प्रधानमन्त्री ओलीको राष्ट्रवादी दावीमाथि गम्भीर प्रश्न उठाइएको छ । चिनियाँ राजदूतको सक्रियता अस्वाभाविक भन्दै सामाजिक सञ्जालमा विरोध भैरहेको छ ।

गत वैशाख तेस्रो हप्ता सत्तारुढ नेकपाभित्रको विवाद उत्कर्षमा थियो, एकाएक चिनियाँ राजदूत होउ यान्छी सक्रिय हुनुभयो । विभाजनको संघारमा पुगेको नेकपाभित्र मेलमिलाप भयो ।

राजदूत होउकै सक्रियताका कारण नेकपाको विभाजन टरेको त्यतिबेलै टिप्पणी भएको थियो । नेकपाका नेताहरुले यसलाई स्वीकारेका त छैनन् तर पार्टी फुटिसकेको थियो भनेर सार्वजनिक रुपमै बोलेका छन् । अहिले नेकपा ठीक त्यस्तै अर्थात विभाजनको संघारमा रहेका बेला चिनियाँ राजदूत होउ सक्रिय हुनुभएको छ ।

नेकपा वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेको त सार्वजनिक भैसकेको छ । अरु भेट गोप्य राखिएको चर्चा छ । जसको उद्देश्य नेकपालाई एक हुन दबाब दिनु रहेको ठानिएको छ । तर चिनियाँ राजदूत होउको सक्रियताका बारेमा सामाजिक सञ्जालमार्फत गम्भीर प्रश्नहरु उठाइएको छ । साथै प्रधानमन्त्री ओली पनि निशानामा हुनुहुन्छ । राप्रपाका अध्यक्ष कमल थापाले रिमोटले चलेको गणतन्त्र भनेर ट्वीट गर्नुभएको छ । प्रधानमन्त्री ओलीको राष्ट्रवादमाथि थापाको प्रश्न छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले चिनियाँ राजदूतको सक्रियतालाई विदेशी हस्तक्षेप भन्नुभएको छ । ओली सरकार र नेकपामाथि हमला गर्दै ट्वीटरमा गुरुङ लेख्नुहुन्छ– चिनियाँ राजदूतको हस्तक्षेपले कामरेडहरुको राष्ट्रियता त दुख्दैन होला नि ?

पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले पनि चिनियाँ राजदूतको सक्रियतामाथि प्रश्न उठाउनुभएको छ । राजदूत होउको सक्रियतालाई आचार्यले फेबिकोल र नेताहरुको कामलाई विदेशी हस्तक्षेप निम्त्याउने कर्मको संज्ञा दिनुभएको छ ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धमेन्द्र झा, चिकित्सक रामेश कोइरालालगायतले पनि नेकपाको विवादमा चिनियाँ राजदूतको ईन्ट्रीप्रति आपत्ति जनाउनुभएको छ ।

नेकपाको आन्तरिक विवादमा चिनियाँ राजदूतको सक्रियता कुनै हालतमा ठीक होइन । तर यसमा नेकपाका नेता कार्यकर्ता मौन छन, जसले चिनियाँ भूमिकालाई आमन्त्रण गरेको छ । भारतको विरोध गरेपछि मात्रै राष्ट्रवादी भइने मानसिकताबाट जो कोही पनि मुक्त हुनु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *