राजनीति

नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच दुई घण्टा छलफल, असमझदारी बढ्ने काम नगर्ने सहमति

हिमालय टिभी
२०७७ असार २१ गते १४:५६
नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच दुई घण्टा छलफल, असमझदारी बढ्ने काम नगर्ने सहमति

२१ असार, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच असमझदारी बढ्ने काम नगर्ने र पार्टी एकतालाई बचाउँदै सहमतिका आधार खोज्ने सहमति भएको छ ।

दुई घण्टा भएको छलफल भोलि बिहान स्थायी कमिटीको बैठक बस्नुअघि दुई अध्यक्षबीच फेरि छलफल गर्ने सहमति पनि भएको छ । पार्टी एकता बचाउन दुबैतर्फबाट दूरी एवं आशंका बढाउने क्रियाकलाप रोक्ने सहमति भएको छ ।

आपसमा दूरी बढाउने गरी सडकमा प्रदर्शन र एकअर्कालाई सार्वजनिक गाली गलौज गर्ने कार्य पनि रोक्ने सहमति भएको स्रोतले जनाएको छ । बालुवाटारमा भएको वार्तामा केपी ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टी महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी हुनुहुन्थ्यो ।

त्यस्तै प्रचण्डका तर्फबाट उर्जामन्त्री वर्षमान पुन र स्थायी कमिटी सदस्य जनार्दन शर्मा सहभागी हुनुहुन्थ्यो । आजको कुराकानी सकारात्मक रहेको र भोलि फेरि दुई अध्यक्षबीच छलफल हुने नेकपा महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

भोलि बिहान छलफलमा बस्नुअघि ओली र प्रचण्ड दुवै पक्षका नेता बसेर थप गृहकार्य गर्नेछन । त्यसका लागि सहमतिको खाका तयार गर्ने जिम्मा ओली पक्षबाट बिष्णुप्रसाद पौडेल र शंकर पोखरेल तथा प्रचण्ड पक्षबाट वर्षमान पुन र जनार्दन शर्मालाई दिइएको छ ।

त्यसका लागि चार जना नेताले आजैदेखि गृहकार्य थाल्ने र अरु नेतासँग पनि छलफल गर्ने पनि स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्