Political Hightlights

नेकपाको विवाद उत्कर्षमाः प्रधानमन्त्री ओली र राष्ट्रपतिबीच भेट, मन्त्रीहरु बालुवाटार बोलाइए

हिमालय टिभी
२०७७ असार २० गते १९:०८

२० असार, २०७७ काठमाडौं । आन्तरिक विवाद उत्कर्षमा पुगेको सत्तारुढ नेकपामा दुबै पक्ष आज दिनभर आगामी रणनीति बनाउन व्यस्त बनेका छन् ।

विहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठक स्थगित गरेर शिर्ष नेताहरु समुहगत छलफलमा व्यस्त भएका हुन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज विहान पार्टीका वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छलफल गर्नुभयो ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले दुबै पद नछाड्ने स्पष्ट अडान लिएपछि अव कसरी अघि बढ्ने भन्नेबारे यी नेताबी छलफल भएको छ । प्रचण्ड(नेपाल पक्षले ओलीले दुईमध्ये एक पद छाडे सहमति हुन सक्ने बताएको छ ।

प्रचण्डले आजै पार्टीका आफु पक्षधर स्थायी समिति सदस्यसँग पनि छलफल गर्नुभएको छ । छलफलमा प्रधानमन्त्री ओलीले पार्टी फुटाउने तयारी गरिरहेको निष्कर्ष निकालिएको सहभागी नेताले बताएका छन् । यसबारे प्रचण्डले प्रधानमन्त्री ओलीसँग निर्णायक कुरा गरेर स्पष्ट हुन सदस्यले सुझाव दिएका छन् ।

प्रचण्डले आज प्रधानमन्त्रीलाई भेट्न खोजे पनि समय पाउनु भएन । प्रधानमन्त्रीले व्यस्त भएको भन्दै समय नदिएको प्रचण्डको सचिवालयले जनाएको छ । बालुवाटारबाट भोलि १० बजेतिर भेट्न आउनु भन्ने शन्देश प्रचण्डलाई पठाइएको छ ।

यता ओली पक्षले दुबै पद नछाड्ने बरु पार्टी फुटाएर अघि बढ्ने धम्की दिइरहेको छ । प्रधानमन्त्री ओलीले आज दिनभरी आफु पक्षधर नेतासँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ । उहाँले अपरान्ह शितल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्नु भएको छ । मन्त्री र राज्यमन्त्रीलाई अहिले बालुवाटारमा बोलाइएको छ ।

मन्त्रीहरुलाई बालुवाटार बोलाइए पनि के प्रयोजनका लागि भनेर खुलाइएको छैन । प्रधानमन्त्रीका पछिल्ला कदमलाई अर्को पक्षले पार्टी फुटाउने तयारीका रुपमा लिएको छ । दल विभाजनसम्वन्धि अध्यादेश ल्याउन लागिएको प्रचण्ड नेपाल पक्षका नेताको आशंका छ । त्यसअघि आज विहान बोलाइएको स्थायी कमिटी बैठक पर्सी असार २२ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

सहमतिका लागि दोस्रो तहका नेताले पनि प्रयास गरिरहेका छन् । तर अहिलेसम्म सहमतिको संकेत भने देखिएको छैन । स्थायी कमिटी बैठकमा अधिकांश नेताले प्रधानमन्त्रीको राजीनामा मागेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्