समाज

ललितपुरको खोकनाको ‘रोपाईं’ मा प्रहरी र स्थानीयबीच झपड (फोटोफिचरसहित)

हिमालय टिभी
२०७७ असार २० गते १५:१३
ललितपुरको खोकनाको ‘रोपाईं’ मा प्रहरी र स्थानीयबीच झपड (फोटोफिचरसहित)

२० असार, २०७७ ललितपुर । फास्ट ट्रयाकमा पर्ने जग्गामा धान रोप्न थालेपछि स्थानीय र प्रहरीबीच खोकनामा झडप भएको छ ।

विकासका नाममा उर्वर भूमि विनाश भइरहेको भन्दै विरोध स्वरुप धान रोपिरहेका किसानलाई अवरोध गरेपछि झडप भएको हो । किसानहरु सामूहिक रुपमा धान रोप्न गएपछि झडप भएको हो ।

भूमि माथिको अधिकार खोस्दै सरकारले विकास परियोजनाका नाममा हराभरा र उर्वर भूमिलाई विनाश गर्ने हिसाबले काम गरिरहेकाले विरोध गरिएको उपत्यकाव्यापी सडक पीडित संघका कोषाध्यक्ष विद्या श्रेष्ठले बताउनुभयो । उहाँले ३ हजार वर्ष अगाडीको नेवा सभ्यता विनास गर्न खोज्ने सरकारको कामविरुद्ध धान रोपेर विरोध गरिएको बताउनुभयो ।

किसानहरु संयुक्त रुपमा धान रोपाई गर्न थालेपछि बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । प्रहरीले धान रोप्न नदिएपछि स्थानीयले नाराबाजी सुरु गरेका थिए । स्थानीय रुद्रायणी मन्दिरमा भेला भएर ट्रयाक्टर, कुटोकुदालोसहित कुदेश, सिकाली हुँदै खुदोल पुगेका थिए ।

उपत्यकाका विभिन्न स्थानबाट मानिसहरु किसानको समर्थनमा खोकना पुगेर धान रोप्न सुरु गरेका थिए । ‘फास्ट ट्रयाक चाँहिदैन किसान मार्न पाइँदैन’, ‘भूमाफिया होसियार’, ‘सम्पूर्ण किसान एक होऊ’ भन्ने नारा लगाएर प्रहरीलाई ढुंगामुडा प्रहार गरेपछि झडपको अवस्था आएको हो । रोपाईमा प्रहरीले अवरोध गरेपछि आक्रोशित स्थानीयको भिडलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको थियो ।

बाहिरी चक्रपथ, काठमाडौं तराई द्रुतमार्ग र मातातीर्थ—भक्तपुर १३२ केभी प्रसारणलाईन खोकना हुँदै बनाउने योजना सरकारले अघि सारेपछि स्थानीयले विरोध गरिरहेका हुन् । सांस्कृति सम्पदाहरुमाथि विकासका नाममा विनास गर्न नहुने भन्दै स्थानीय विरोधमा उत्रेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *