हाम्रो दैनिकी : के गर्ने ? कसरी गर्ने ?

२०७७ असार २० गते १४:३२

हाम्रो दैनिकी : के गर्ने ? कसरी गर्ने ?

कुरा केही वर्ष अघिको । रत्नराज्य लक्ष्मी कलेजले भाडा लगाएको सटरको पुस्तक पसलमा कहिले काहीं जान्दिन । पसल सञ्चालिका झापाली थिइन, झापाली भन्दा बढी साहित्यमा उनको रुची थियो । पुस्तकहरु टन्नै पढ्थिन, बजारमा आएका कितावहरुका बारेमा उनीसँगै प्रतिक्रिया लिन्थे । पुस्तक पसल नै राखेकी भए पनि यो पुस्तक नपढ्दा हुन्छ भनेर सुझाव दिन्थिन । समय बितेको पत्तै हुँदैनन । स्नातकोत्तर तह पहिलो वर्षको परीक्षाको चलिरहेको थियो । दोस्रो वर्ष राम्रोसँग उतीर्ण भएको भनेर एक विद्यालयका प्रधानाध्यापक समेत रहेका स्नातकोत्तरको विद्यार्थीले हामीलाई पनि चक्कलेट खुवाए । अनि समाजशास्त्रकोे कोड नम्बर उल्लेख गरेर पुस्तक मागे । यो पटक पहिलो वर्षको परीक्षा पनि पार गर्ने अठोट सुनाए । पसलकी साहुनीले भनिन–‘ल सर तपाईंलाई अग्रिम बधाई, यो वर्ष दुःखै नगरी उत्तीर्ण हुने हुनु भयो ।’

प्रधानाध्यापकले अनकनाउँदै, धन्यवाद भने । किताब आफैंसँगै भएकाले गेस पेपर र प्रश्नपत्रहरुको संगालो मागे ।

साहुनीले दोहोर्‍याएर भनिन –‘सर त्यत्तिकै पास हुनुहुन्छ, किन दुःख गर्नुहुन्छ, दुई चार सय किन कितावमा खर्च गर्नुहुन्छ, ल यो रुटिङ लिएर जानुस, फोटोकपीको अरुलाई पाँच रुपैंया तपाईंलाई यसको पनि पैसा पर्दैन ।’

प्रधानाध्यापक रुटिङ बोकेर बाटो लागेपछि । ती साहुनीले भनिन– ‘त्यो विषयको परीक्षा अस्ति सकियो, गेस पेपर आज खोज्न आउँछन ।’

‘अनि त्यही कुरा किन अघि नभनिदिएको त ?’

‘म कहाँ गेस पेपर सकिएको छ । अर्को पसलेले व्यापार गरोस न ।’

००००

फेरि पनि कुरो परीक्षाकै । यो पनि अलि अघिकै कुरा हो । (अहिले त कोरोना संक्रमणका कारणले सबैको परीक्षा रोकिएको छ ।) परीक्षाको अघिल्लो रात साली नानी, नोट धुँईपत्तल खोज्दैथिइन । धन्न १०/१५ मिनेटमै भेटियो । त्यो १५ मिनेटको खोजाई, हत्तारो, चिन्ता, डर आदि के केले भरिएको अनुहार हेर्न लायक थियो । नोट भेटियो, ढुक्कले सुतिन, नोट भेटिएको खुशीले सायद निन्द्रा बढी नै लाग्यो कि ?

परीक्षा केन्द्रीत पढाई गर्नेहरु धेरै जसोको हालत यस्तै हुने हो, परीक्षा शुरु हुने अघिल्लो दिन नोटकपी कहाँ राखें भनेर खोज्ने !

००००

माथिको उदाहरण सामान्य हुन । यो यसले मानिस कति अव्यवस्थित छ, भन्ने देखाउँछ ।व्यवस्थित र अत्यावश्यक सूचनामा समेत अध्यावधिक नहुँदा ती प्रधानाध्यापकको एक वर्ष फेरि पनि खेर गयो । परीक्षाको अघिल्लो दिन मात्रै नोटको खोजी गर्नुले शैक्षिक गुणस्तरमै हानी पुर्‍यायो । कुन सामान कहाँ राख्ने र कुन बेला के गर्ने भन्ने थाहा नपाउँदा ठूलो नोक्सानी भएको हुन्छ । यसर्थ मानिस स्वअनुशासनमा बस्नै पर्छ । आफैंले घोषित/अघोषित, लिखित/अलिखित रुपमा बनाएको दैनिकी पछ्याए पुग्छ । खाने, सुत्ने, पढ्ने सवै रुटिङ हुनु जरुरी छ । जुन कुरा नियमित हुन्छ । त्यो सहज हुन्छ । जब मानिस अनियमित क्रियाकलाप गर्छ, त्यसले उसको जिन्दगी नै अस्तब्यस्त बनाई दिन्छ । व्यवहारले रक्तचाप, निन्द्रा, पाचन प्रणालीलाई अनियमित बनाइदिन्छ । अन्नत यसले मृत्युलाई नजिक ल्याउँछ ।

सामान्य मानिसको दैनिकी ओछ्यान छाडेदेखि शुरु हुन्छ । उठ्ने वित्तिकै ओछ्यान मिलाउने, शौचालय जाने, हातमुख धुने । शारीरिक अभ्यास गर्नुछ भने गर्ने । चिया, नास्ता गर्ने । पेशा अनुसारको कर्म शुरु गरिहाल्ने । चाँडै ओछ्यानमा पुगेर निदाउने, चाँडै ब्यूँझिने । बस यत्ति त हो, दैनिकी । सधैं उही रुटिङ पछ्याउने, इमान्दारीताका साथ । आत्मानुशासनका साथ ।

विहान सवेरै उठ्ने वित्तिकै दिसापिसाब नगरे के हुन्छ ? तपाई काठमाडौंको व्यस्त दैनिकीमा हुनुहुन्छ । दिसापिसाब लाग्ने बित्तिकै शौचालय नभेटियोस । जवाफ त्यही भेटिन्छ । कतै लामो यात्रामा निस्कनुस । शहरको बीचमा लामो जाम परोस अनि त्यो बेलामा पनि जवाफ भेटिन्छ । वैदेशिक यात्रामा निस्कँदा शौचालय बस्नुपर्दा जहाज छुटोस अनि त्यहाँ पनि जवाफ भेटिन्छ । यस्ता जवाफ भेटिने ठाउँ र घटनाहरु अनेकौं छन हुन्छन । शौचालय जाने एउटा सामान्य कुरालाई व्यवस्थित नबनाउँदाका असरहरु यत्ति धेरै हुन्छन भने अन्य कुराको पनि तर असर हुन्छन ।

००००

मेरा केही साथीहरु छन, दिनहुँ कलम हरायो भन्दै गनगन गर्छन । आखिर कलम हराएको हुँदैन । राखेको ठाउँ बिर्सिएको मात्रै हो । कहाँ राख्ने र कहाँ राखें भन्ने ठेगान नहुँदा त्यस्तो भएको हो । पत्रकारले कलमको सही व्यवस्थापन गर्न सकेन भने त्यसले भयानक दुर्घटना निम्त्याउँछ ।

००००

मानिसहरुका अनेकौं आदत हुन्छन । जो कहिल्यै पनि शौचालय गएर दिसापिसाब गरेपछि पानी हाल्दैनन । निस्किएपछि शौचालयको ढोका ह्याङछाडेर हिंड्छन । यसले उसलाई तत्काल केहि हानी त नहोला । मूल्यांकन गर्नेले उसको मूल्यांकन त गरिरहेका हुन्छन ! शौचालयको ढोका लगाउन बिर्सनेहरुले आफ्नो पाइन्टको जिपर लगाउन चाहिं किन बिर्सदैनन ? कहिलेकाहीं सोचेर अचम्म लाग्छ ।

००००

अर्काथरी मान्छे पनि भेटिन्छन । जो कहिल्यै बिर्को लगाउन कहिल्यै सम्झँदैनन । यो पवृत्तिका मानिसले अरुलाई त हैरान पार्छन नै आफूलाई पनि ठूलो नोक्सानी हुन्छ । बिर्को नलगाई तेल, पानी, दूधको बोतल राख्दा के होला । पोखिएर लुगाहरु विझ्ला । पोखिएर भुँई भिझ्ला त्यहीमाथि लडेर टाउको फुट्ला, ढाड भाँचिएला के गर्ने ?यी मान्छेहरुले मुखमा पनि बिर्को लगाउन जान्दैनन । यसले पनि निकै ठूलो मूल्य चुकाउनु परिरहेको हुन्छ । नत्र किन उखान बन्थ्यो र थुतुनो र मुतुनो जोगाउनु भनेर ।

००००

अर्को पनि बानी हुन्छ, मानिसको । चिया नभई ओछ्यान नछाड्ने, चिया खाएपछि भाँडा भान्छासम्म पुर्याउन कहिल्यै नसक्ने । अर्थात जहाँ खायो त्यहीं छाड्ने । यस्ता मानिसका ओछ्यानमा र सिरानीमुनि चाउचाउ, चकलेटका खोलहरु भेटिनु सामान्य हो । कहिलेकाहिं त चुइगम नै भेटिँदा पनि अन्यथा नमाने हुन्छ ।

००००

कहिलेकाहिं एकै प्रकृतिको स्वभाबको मिलनले पनि समस्या पर्छ । तैं रानी मैं रानी, कसले भर्ने कुवाको पानी । कहिलेकाहिं सम्मान गर्ने नाममा पनि समस्या हुन्छ । मधेसमा एक समय गाडि चढ्ने विषयमा दुई सम्धीबीच । सम्धी पहिले । हैन सम्धी पहिले । भन्दा भन्दै गाडी छुटेको किस्साहरु सुनिएकै हो ।

किन, व्यवस्थित हुँदैनौ त हामी ?

यस्तै सिक्यौं, यस्तै जान्यौं वा कसैले सिकाएनन, कसैले भनेन । जवाफ सजिलो छ, यही भन्छौं । त्यसो नभने पनि बाहना बनाउनमा नेपालीहरु आँशु कवि नै हुन, ठाउँका ठाउँ रचना भइहाल्छ । नयाँ साथी आउने दिन हामी कोठा सफा गर्छौं । दशैं तिहार आउँदा घर आगन सफा गर्छौं । कतै ठूलो कार्यक्रममा जानु पर्ने भयो भने आफूलाई विशेष समय दिएर टिपटप राख्छौं । यी सवै कामका लागि दैनिक १०/१५ मिनेट दिए पुग्छ । तर त्यसो गरिन्न ।

देशकै कुरा गर्ने हो भने पनि ।

विदेशी राष्ट्र प्रमुख वा सरकार प्रमुख आउँदा राज्यका निकायहरुलाई तातो लाग्छ । सबै निद्राबाट ब्यूँझन्छन । धेरै टाढा नजाऔं, चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको समय सम्झौं ।एउटा सामान्य वा वरिष्ठ नेपालीको घर नै हेरौं । परिवारको कुनै सदस्यको विवाहको एक हप्ता अघिको घर र एक हक हप्ता पछिको घर हेरौं । दृश्य आफैं बोल्छ ।

जो मानिस सफल भएका छन । व्यक्तिगत जीवनमा होस या व्यवसायिक जीवनमा त्यसको पछाडिको कारण भनेको उसले आफ्नो दैनिकीलाई व्यवस्थित बनाएर नै हो । जसको दैनिकी व्यवस्थित हुन्छ, उसको दैनिकीको संग्रह जिन्दगी पनि व्यवस्थित हुन्छ ।
bd.palung@gmail.com


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *