Main News

बझाङ पहिरो अपडेटः ३ जनाको शव फेला, चार जना बेपत्ता, १८ घर पुरिए

हिमालय टिभी
२०७७ असार २० गते १२:२६
बझाङ पहिरो अपडेटः ३ जनाको शव फेला, चार जना बेपत्ता, १८ घर पुरिए

२० असार, २०७७ बझाङ । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका– ८ मल्लेसीमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ भने चार जना अझै हराइरहेका छन् ।

गाउँपालिकाकी उपाध्यक्ष निशा धामीका अनुसार १८ घर पुरिएका छन् । बझाङका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीका अनुसार बेपत्ता चार जनाको खोजी कार्य जारी राखिएको छ ।

गाउँपालिका–८ का वडाध्यक्ष गणेश बोहराले जानकारी दिएअनुसार ११ वर्षीया सुन्ता जेठारा, सात वर्षीया अस्मिता जेठारा र ११ वर्षीय प्रयागराज जेठाराको शव भेटिएको छ भने अन्यको शव पुरिएको छ । बेपत्ता भएकाहरुमा ८० वर्षीय दले जेठारा, २० वर्षीय जिरजा जेठारा, ४४ वर्षीया रामदेवी जेठारा र सात वर्षीया शान्ता जेठारा रहेको पनि उहाँले घटनास्थलबाट जानकारी दिनुभयो । पुरिएकी रामदेवी जेठाराका मृत भेटिएका छोरा प्रयागराजसहित छोरी अस्मिता हुन् भने शान्ता बेपत्ता छिन् ।

स्थानीयबासी र गाउँपालिकाका अधिकारीहरु खोजी कार्यमा रहेका छन् । जिल्लाबाट गएको सुरक्षा टोली पुग्न अझै समय लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी सार्कीले जानकारी दिनुभयो ।

स्थानीय प्रशासनले क्षतिको एकिन विवरण आउन नसकेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले घटनास्थल सदरमुकामबाट टाढा रहेकाले एकिनन जानकारी आउन नसकेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *