Main News

गण्डकी प्रदेशमा थप १६ जना कोरोना संक्रमित फेला, संक्रमितको संख्या १०७९ पुग्यो

हिमालय टिभी
२०७७ असार २० गते १२:१७
गण्डकी प्रदेशमा थप १६ जना कोरोना संक्रमित फेला, संक्रमितको संख्या १०७९ पुग्यो

२० असार, २०७७, कास्की । गण्डकी प्रदेशमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशका ६ जिल्लाका १६ जनामा कोरोना संक्रमण देखिएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेमा ७ जना नवलपरासीका छन् ।

देवचुली नगरपालिकाका २० देखि ३९ वर्ष उमेर समूहका ५ जना पुरुष तथा ३० र २५ वर्षका २ जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबैको चितवनमा परीक्षण गरिएको थियो । त्यस्तै, कास्कीमा २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरका २७ र ३३ वर्षीय २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । म्याग्दीमा ३ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश क्षयरोग प्रयोगशालामा गरिएको परीक्षण अनुसार रघुगंगामा २ र मंगला गाउँपालिकाका एक जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङका २ जनामा कोरोना पुष्टि भएको छ । बरेङ र ढोरपाटन नगरपालिकाका ४२ र २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै स्याङ्जा र तनहुँमा २ जनामा कोरोना भेटिएको छ ।

कोरोना पुष्टि हुनेमा स्याङ्जा पुतलीबजारका ३८ वर्षीय र तनहुँ भिमादका ३६ वर्षीय पुरुष छन् । संक्रमितहरु सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेको र जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा। विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ७९ पुगेको छ । जसमध्ये ३ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको भएको छ । शनिबार विहान गोरखामा उपचाररत एक संक्रमितको मृत्यु भएसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको हो । प्रदेशभरि कोरोना भाइरसलाई जितेर घर फर्किनको संख्या २ सय ९६ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *