राजनीति

नेकपालाई फुटबाट जोगाउने यस्ता हुन सक्छन् केही विकल्प

हिमालय टिभी
२०७७ असार १८ गते २०:२७
नेकपालाई फुटबाट जोगाउने यस्ता हुन सक्छन् केही विकल्प

१८ असार, २०७७ काठमाडौं । सत्तारुढ नेकपा भित्रको विवाद उत्कर्षमा पुग्दा पार्टी विभाजन हुने सम्मको अवस्था आएको छ । प्रधानमन्त्री केपी शर्मा ओली निकै दबाबमा हुनुहुन्छ ।

र, ओलीले नयाँ दल खोल्न मिल्ने गरी आफू अनुकुल बाटो बनाउने कोशिस पनि गरिरहनुभएको छ । त्यसका ओली पक्षीय नेताहरु विभिन्न विकल्पमा छलफल गरिरहेका छन । प्रधानमन्त्री ओलीसँग अब के विकल्प छन त ?

पहिलो विकल्प आत्मालोचना गरी विश्वास जित्ने
त्यसो त संसद अधिवेशन अन्त्य गरेर केपी शर्मा ओलीले नयाँ दल बनाउन मिल्ने गरी अध्यादेश ल्याउने बाटो खोलिसक्नुभएको छ । तर गल्ती स्वीकारेर पार्टी पद्धति अनुसार चल्छु भनेर सबैलाई विश्वासमा लिनु ओलीको लागि पहिलो र पार्टी बचाउने सहज उपाय हुन सक्छ । तर आफ्नो कमजोरी स्वीकार गर्न नमान्ने ओलीको बानीका कारण त्यो सहजै संभव हुने देखिन्न । र, हिजोसम्म पार्टी निर्णय माने ठीकै छ भन्ने मनस्थितिमा रहेका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि यो विकल्प सहजै मान्ने अवस्था छैन । त्यसका लागि प्रचण्डको भूमिका महत्वपूर्ण हुन सक्छ ।

दोस्रो विकल्प –दुईमध्ये एक पद छाड्ने
ओली पनि शक्तिमै रहने र पार्टी पनि विभाजन नहुने दोस्रो विकल्प ओलीले दुई मध्ये एक पद छोड्नु हो । स्थायी कमिटीमा प्रष्ट रुपमै दुई तिहाई सदस्य राजिनामाको पक्षमा उभिएपछि ओली दबाबमा हुनुहुन्छ ।

त्यसैले सहजै पार्टी पद्धति र विधि मान्छु भनेर एक पदमा रहने विकल्प ओलीसँग छ । दुवै पदबाट हटाउँदा पार्टी फूट्छ भन्ने निष्कर्षमा पुगेका प्रचण्ड र नेपाल पक्ष यसमा एक पद छोडे सहमत हुन सक्छ । तर यो अब ओलीकै हातमा छ किनकी ओलीले यो कुरा सुन्नै नचाहेको स्रोतहरुको दावी छ ।

दुवै पदमा म निर्वाचित भएर आएको हुँ भन्ने ओलीको तर्क छ । र, ओली पक्षीय नेताहरु पनि यसमा ओलीको साथमा छन, तर पार्टी फूट्ने अवस्थामा भने उनीहरु के गर्लान भन्ने स्पष्ट भइसकेको छैन ।

तेस्रो विकल्प– पुराना सहमतिमा टेकेर नयाँ सहमति
पार्टी एकताको अघिल्लो दिन अर्थात २०७५ जेठ २ गते तत्कालीनन एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री पद आलोपालो गर्ने लिखित समझदारी भएको थियो ।

तर ०७६ मंसिर ४ गतेको सचिवालय बैठकले केपी ओली पूरै कार्यकाल प्रधानमन्त्री र प्रचण्डले कार्यकारी अध्यक्षको भूमिकामा पार्टी चलाउने निर्णय भएपछि आलोपालोको विषय बन्द भएको थियो । तर मिर्गौला प्रत्यारोपणपछि ओलीले मंसिर ४ गतेको सहमति समेत कार्यान्वयन नगर्दा विवाद बढिरहेको छ । र, पछिल्लो पटक प्रचण्डले कि आलोपालो सहमति कार्यान्वयन गर्ने या त पार्टी चलाउन पाउने मंसिर ४ को निर्णय कार्यान्वयन हुनुपर्ने माग गर्दै आउनुभएको छ । यतिसम्मकी ओलीबाट निराश प्रचण्डले आलोपालो छोडेर गल्ती गरेछु सम्म भ्याउनुभयो ।

अहिले अफ्ठेरोमा परेका बेला पुराना सहमतिको जगमा टेकेर नयाँ सहमतिका लागि प्रचण्डलाई मनाउनु ओलीका लागि तेस्रो विकल्प हुनसक्छ । ओली पक्षीय नेताहरु यो विकल्पमा सहमति गराउने कसरतमा छन् । यसो गर्दा ओली जसरी पनि पावरमा रहने उनीहरुको विश्वास छ ।

चौथो विकल्प– बहुमत देखाउने
संसदीय दलमा बहुमत देखाउने ओलीको चौथो विकल्प हुन सक्छ । स्थायी कमिटीमा जे निर्णय भए पनि ओलीले संसदीय दलको सामना गर्छु भन्न सक्ने संभावना छ । ओलीले वैशाख तेस्रो हप्ता पनि यो प्रयास गर्नुभएको थियो । त्यतिबेला ६४ जना सांसद मात्रै ओलीको पक्षमा उभिएका थिए । प्रतिनिधिसभामा १ सय ७४ जना सांसद रहेको नेकपामा अहिले ओलीको पक्षमा ६० देखि बढीमा ८० सदस्य हुन सक्ने प्रचण्ड नेपाल समूहकै आंकलन छ । तर ओलीका पक्षमा बहुमत पुग्ने संभावना भने कम छ ।

पाँचौं विकल्प– पार्टी विभाजन
पार्टी फूटाउन ओली मानसिक रुपमा धेरै पहिले देखि नै तयार रहेको कतिपय नेताको बुझाई छ । वैशाख दोस्रो हप्ता आएको दल विभाजन सम्बन्धी प्रस्ताव त्यसैको संकेत थियो । त्यसैले बहुमतले निर्णय गरेर हटाउन खोजे पार्टी फूटाउने ओलीको तयारी हुन सक्छ । किनकी ओली अहिले त यत्तिकै मानिरहनुभएको छैन भने निर्णय हुँदा त्यो चोटमा विभाजनमा जान सक्ने धेरैको अनुमान छ ।

संसद अधिवेशन अन्त्य गरी अध्यादेश ल्याउने बाटो खुला गर्नुको अर्थ पनि त्यही नै हो । विद्यमान कानुन अनुसार पार्टी विभाजन गर्न केन्द्रीय कमिटी र संसदीय दल दुवैमा ४० प्रतिशत सदस्य हुनुपर्छ । ओलीसँग केन्द्रीय कमिटीमा ४० प्रतिशत छैन संसदीय दलमा भने ४० प्रतिशत पुग्न सक्छ ।

विकल्पमामा छलफल भैरहे पनि अहिले नेकपा विभाजनमा संघारमा छ । र, यसलाई जोगाउने कि फुट्ने भन्ने जिम्मा फेरि पनि ओली, प्रचण्डसहितका शिर्षस्थ नेताकै हातमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्