Main News

थप ४७३ जनाका कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या, काठमाडौंका अहिलेसम्मकै धेरै संक्रमित

हिमालय टिभी
२०७७ असार १८ गते २०:१५
थप ४७३ जनाका कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या, काठमाडौंका अहिलेसम्मकै धेरै संक्रमित

१८ असार, २०७७ काठमाडौं । नेपालमा आज थप ४ सय ७३ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा अहिलेसम्मकै धेरै संक्रमित भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार काठमाडौंमा ११ महिला र १७ पुरुष गरी २८ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा एकैपटक यति धेरै संक्रमित थपिएको यो पहिलो हो ।

ललितपुर र भक्तपुरमा पनि नयाँ संक्रमित भेटिएका छन् । यसले काठमाडौं उपत्यकामा लकडाउन खुकुलो भएपछि संक्रमण समुदायमा फैलिरहेको देखिएको छ ।

पछिल्लो पटक भेटिएका अधिकांश संक्रमित कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गरिएका हुन् । यी मध्ये कतिपय अस्पतालमा उपचार गराइरहेका विरामी समेत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यसअघि विदेशबाट आउनेमा बढी संक्रमण देखिए पनि पछिल्लो पटक काठमाडौं उपत्यकामा समुदायमै फैलिएको देखिएको छ । प्रवक्ता गौतमले लकडाउन खुकुलो भएपछि काठमाडौंका वासिन्दाले लापरवाही गर्दा संक्रमणको जोखिम बढेको बताउनुभयो । उहाँले भौतिक दुरी लगायतका सचेतनाका उपाए नअपनाए अवस्था नियन्त्रणवाहिर जान सक्ने संभावना रहेको भन्दै सबैलाई गम्भीर बन्न आग्रह गर्नुभएको छ ।

पछिल्लो पटक थपिएका मध्ये झण्डै ३ सय संक्रमित सुदूरपश्चिम प्रदेशका मात्रै छन् । कैलालीमा एकैदिन १ सय ६५ जना संक्रमित थपिएका छन् । जिल्लामा संक्रमितको संख्या ८ सय ६४ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले भने आज १ सय ८२ संक्रमित थपिएको जनाएको छ । यस्तै डोटीमा ५८, बझाङमा ३५ तथा कञ्चनपुर र अछाममा ३१(३१ नयाँ संक्रमित भेटिएका छन् । आज धनुषामा ३०, लमजुङमा १६, महोत्तरीमा १३, सप्तरीमा १०, मोरङमा ६, सुनसरी र सिन्धुपाल्चोकमा ४(४ तथा दैलेख र तनहुँमा ३(३ संक्रमित थपिएका छन् ।

यस्तै पर्वत, स्याङ्जा, चितवन, दाङ, अर्घाखाँची र दोलखामा २(२ तथा काभ्रे, धादिङ, मकवानपुर, पाल्पा, रामेछाप, रुपन्देही, सिन्धुली, उदयपुर, नवलपरासी, नुवाकोट, रसुवा, बाग्लुङ, कास्की, बर्दिया, कालिकोट, झापा र खोटाङमा पनि नयाँ संक्रमित भेटिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ ।

थप ६ सय ६४ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार ३ सय २० पुगेको छ । पछिल्लो पटक ४ हजार ५ सय ३७ जनाको मात्रै पिसिआर परीक्षण भएको छ । पिसिआर परीक्षण बढाउन माग भइरहे पनि सरकारले भने दिनदिनै घटाउँदै लगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *