Main News

४४ सदस्यीय नेकपा स्थायी कमिटीमा ३१ सदस्य अध्यक्ष ओलीको विपक्षमा

हिमालय टिभी
२०७७ असार १८ गते ८:१२
४४ सदस्यीय नेकपा स्थायी कमिटीमा ३१ सदस्य अध्यक्ष ओलीको विपक्षमा

१८ असार, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका ३१ जना स्थायी कमिटी सदस्य प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा भेला भएका छन् । र, ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद छाड्नुपर्ने वरिष्ठ नेताहरुको मागमा आफ्नो समर्थन जनाएका छन् ।

झम्सिखेलको एक होटलमा भएको भेलामा सहभागी स्थायी कमिटीका सदस्य ओलीको नेतृत्वमा पार्टी र सरकार दुबै चल्न नसक्ने सामूहिक निश्कर्षमा पुगेका छन् । जे निर्णय भएपनि सकेसम्म सहमतिकै आधारमा गर्नु पर्ने उनीहरुको जोड छ ।

सर्वसम्मत निर्णय हुन नसके बहुमतको निर्णय ओलीले मान्नुपर्ने भेलाको निश्कर्ष छ । आज बिहान अध्यक्ष प्रचण्डले स्थायी कमिटीका अरु नेताहरुसँग पनि छलफल गर्दैहुनुहुन्छ ।

प्रचण्डले हालसम्म ओली पक्षमा रहेका सुवासचन्द्र नेम्वाङ लगायतका नेताहरुसँग पनि छलफल गर्ने निधो भएको छ । नेताहरुका अनुसार प्रधानमन्त्री ओलीले चाल्न सक्ने सम्भावित कदमहरुबारे पनि झम्सिखेल बैठकमा छलफल भएको छ ।

संकटकाल लगाउने, संसद विघटन गर्ने वा संसदीय दलमा बहुमत जुटाउने तीनवटा विकल्पमा प्रधानमनत्री ओलीले प्रयास गरेको नेताहरुको दाबी छ । पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारीसँग बाक्लिएको भेटघाटका कारण पनि संकटकाल लगाउन खोजिएको त होइन भन्ने नेताहरुको आशंका छ ।

संसद विघटन गर्ने विकल्प असंवैधानिक भएको र यसलाई अदालतले सहजै उल्टाउने प्रचण्ड नेपाल समूहका नेताहरुको विश्लेषण छ । नेकपा संसदीय दलमा पनि प्रधानमन्त्री ओलीको बहुमत नपुग्ने नेताहरुको दाबी छ ।

नेकपाका १७४ सांसद छन् । उनीहरुमध्ये बहुमत प्रचण्ड र माधवकुमार नेपाल समूहसँगै भएको नेताहरुले दाबी गरेका छन् । ४४ सदस्यीय स्थायी कमिटीका बहुमत नेताहरुको यो निश्कर्षले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पद जोगाउन हम्मे पर्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *