समाज

वडाध्यक्षले प्लटिङ जोगाउन खोला फर्काउँदा गाउँलेको उठिबास (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार १७ गते २०:१५
वडाध्यक्षले प्लटिङ जोगाउन खोला फर्काउँदा गाउँलेको उठिबास (भिडियोसहित)

१७ असार, २०७७ पाल्पा । पाल्पाको तानसेन नगरपालिका वडा नम्बर १० र ७ हुँदै बग्ने खोलालाई ४५ वर्षअघिको पुरानै धारमा फर्काउने भनेर काम थालिएको छ । तर काम पूरा भएको छैन । त्यसैले खोला किसानको खेतमा पसेको छ । किसान वडाध्यक्षले आफ्नो प्लटिङ्ग जोगाउने योजनामा खोला फर्काएर खेत बगर बनाइदिएको गुनासो गर्छन् ।

यहाँ पुल छ तर पुलमुनि खेत छ । यहाँ पानी बग्दैन । यहाँको पानी कहाँ गयो होला तपाईँको मनमा प्रश्न उठ्छ ? यहाँबाट बग्ने पानी मोडेर कुलोमा पठाइएको छ । गाउँलेको खेतमा सिंचाइ गर्ने कुलो अहिले खोलो बनेको छ । त्यसैले गाउँले कुलोमाथि पुल हाल्दैछन् ।

खासमा यो खोलाको छेउमा तानसेन नगरपालिका वडा नम्वर ७ का अध्यक्ष मुक्तिराम बिसीको प्लटिङ्ग छ । त्यसैले बिसीले आफ्नो प्लटिङ्ग जोगाउन खोला नै फर्काएको गाउँलेको आरोप छ ।

पोहोरसम्म यो पानि कुलो र खोलामा आधाआधा बाँडिन्थ्यो । त्यसैले कुनै समस्या थिएन । तर अहिले सबै पानी कुलोमा हालिएको छ । त्यसैले कुलोमा पानी अटाउँदैन र किसानको खेतबाट बग्छ ।

किसानले आफ्नो खेत जोगाउन कुलोमा तटबन्ध बनाउन आफैंले पैसा खर्च गरे तर पनि उनीहरुको खेत जोगिएको छैन ।

तर वडाध्यक्ष बिसी आफ्नो प्लटिङ्ग जोगाउन खोलाको बहाव परिवर्तन गरेको मान्न तयार हुनुहुन्न । उहाँ यो खोला २०३२ सालभन्दा पहिला जुनठाउँबाट बग्थ्यो त्यही ठाउँबाट बगाउन नगरपालिकाबाटै योजनामा काम भएको दावी गर्नुहुन्छ । आफू वडाध्यक्ष चुनिनु अघि नै खोला फर्काउने सहमति भएको उहाँको तर्क छ । सोहि अनुसार काम गर्दा गाउँलेको बिरोधपछि रोकिन पुगेको र यो वर्ष क्षति बढी भएको उहाँ बताउनुहुन्छ ।

तर गाउँले यो मान्न तयार छैनन् । होलाङ्ग्दी( नयाँ पाटी खोला व्यवस्थापन योजनाका नाममा झुक्याइएको उनीहरु बताउँछन् । आफ्नो खेत जोगाउन नगरपालिका र वडा कार्यालय धाउँदा पनि कुनै सुनुवाई नभएको गाउँलेको गुनासो छ ।

यो खोला व्यवस्थापनका लागि जिल्ला भुसरंक्षण कार्यालयले पनि ५० लाख रुपैयाँ बजेट दिएको थियो । अहिले विवादपछि यो रकम पनि फिर्ता भएको छ । कुलामा मिसाइएको यो खोला बढेको बेला लहलह धान भएको किसानको खेतमा पस्छ र बगर बनाउँछ । खोला यस्तै छाड्ने हो भने यो बर्षामा नै खोलाले बस्ती र बाटो घाटो समेत बिनास गर्ने खतरा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *