राजनीति

अप्ठ्यारोमा नेकपा, संकटमा प्रधानमन्त्री, सहयोगका लागि हारगुहार (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार १७ गते १९:५५
अप्ठ्यारोमा नेकपा, संकटमा प्रधानमन्त्री, सहयोगका लागि हारगुहार (भिडियोसहित)

१७ असार, २०७७ काठमाडौं । स्थायी कमिटी बैठकमा दुवै पद छाड्न दबाब बढेपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्श बढाउनुभएको छ । स्थायी कमिटीको बैठकमा शीर्ष नेतासहित झण्डै बहुमत सदस्यले नैतिकताका आधारमा दुवै पद छाड्न दबाब दिएपछि ओलीले आफूलाई बचाउने प्रयास थाल्नुभएको छ ।

मंगलवार १७ जनाले राजिनामा मागेपछि बुधबार बिहानैदेखि प्रधानमन्त्री ओलीले विहानैदेखि सक्रियता बढाउनुभयो । आफू निकट र साथ दिन सक्ने अनुमान गरेका मन्त्री र स्थायी कमिटी सदस्यलाई बोलाएर नेता ओलीले झण्डै दुई घण्टा परामर्श गर्नुभयो ।

जसमा पूर्वमाओवादी केन्द्र समूहका गृहमन्त्री रामबहादुर थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी र मणि थापा समेत सहभागी हुनुहुन्थ्यो । त्यस्तै वरिष्ठ नेता माधवकुमार नेपाल निकट पर्यटन मन्त्री योगेश भट्टराई र कृषिमन्त्री घनश्याम भुसाल पनि छलफलमा सहभागी हुनुहुन्थ्यो ।

ओलीद्वारा सहयोग माग
सुझाव सुनेर योजना बनाउन छलफलमा बोलाउका ओलीले शुरुमै पहिले झैं सहयोग नपाएको गुनासो गर्नुभयो । यतिसम्म त ठीकै थियो, तर ओलीले मुखै फोरेर मेरा लागि बोलिदिनु पर्यो भनेर गुहार माग्नुभयो । ‘मलाई अहिले अप्ठेरामो पारिएको छ,’ प्रधानमन्त्री ओलीको भनाई उधृत गर्दै एक नेताले भने–तपाईंहरूले मलाई सहयोग गरिदिनुपर्‍यो, राष्ट्रियता र मेरा पक्षमा बोलिदिनुपर्‍यो।’ पार्टी र राष्ट्र दुवै गम्भीर संकटमा परेको ओलीको निष्कर्ष छ ।

नेपाल निकट नेताको उदार हुन सुझाव
बैठकमा सहभागी वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेता योगेश भट्टराई र घनश्याम भुसालले उदार भएर अघि बढ्न सुझाव दिनुभएको छ । भट्टराई र भुसालले अरु शीर्ष नेताको मन कतै दुखेको हुन सक्छ, बुझ्नुस छलफल गर्नुस भनेको स्रोतले जनाएको छ । भुसालले तपाइँ बलियो हुँदा लोकतन्त्र कमजोर हुने भन्दै निरंकुश नहुन र पार्टी पद्धति पालना गर्न सुझाव दिनुभएको छ ।

ओली निकट नेताहरुको सुझाव – खुट्टा नकमाउनुस्
ओली नरम ढंगले प्रस्तुत भएपनि ओली निकट नेताहरुले भने आक्रामक रुप देखाएका छन ।
उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलले सत्यमा उभिएर दह्रो खुट्टा टेक्न सुझाव दिएको स्रोतले जनाएको छ । अरु नेताले पनि गल्ती नगरेको भन्दै अडानमा कायम रहन भनेका छन ।

पूर्व माओवादी समूहका नेताको आग्रह– एकता बचाउन पहल गर्नुस्
छलफलमा सहभागी पूर्व माओवादी खेमाका नेताहरुले पार्टी एकता बचाउनका लागि आफै पहल लिन ओलीलाई आग्रह गरेका छन । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै भएकाले पनि पहल ओलीले नै गर्नुपर्ने उनीहरुको सुझाव छ । पार्टी एकतालाई बचाउनुपर्ने, विधि पद्धतिमा चलाउनु पर्ने र पार्टी सरकारको सम्बन्ध बलियो बनाउनुपर्नेमा उनीहरुले जोड दिएका छ ।

नेता योगेश भट्टराईका अनुसार समग्रमा बैठकमा सहभागी सदस्यहहरुले प्रधानमन्त्री र पार्टीको पहिलो अध्यक्ष भएका नाताले पार्टी जोगाउने र छलफल गर्ने जिम्मेवारी ओलीकै भएको निष्कर्ष ओलीलाई सुनाएका छन ।

आफू निकट नेतासँग छुट्टै छलफल
विहान पूर्व माओवादी खेमा र वरिष्ठ नेता नेपाल निकट नेतासँग समेत छलफल गरेका ओलीले दिउँसो फेरि आफना विश्वास पात्र नेताहरुसँग छलफल गर्नुभएको छ ।ईश्वर पोखरेल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा सहितका नेताहरुसँग ओलीले छलफल गर्नुभएको छ ।

छलफलमा प्रचण्ड सहित पूर्व माओवादी भन्दा पनि वरिष्ठ नेता नेपाल पक्षका नेता र वामदेव गौतम आक्रामक भएको विषयमा गम्भीर छलफल भएको छ । सकेसम्म पूर्व एमाले समूहका नेतालाई फकाउने गरी लाग्नु पर्ने छलफलको निष्कर्ष रहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार ओली निकट नेताहरुले आजै उपाध्यक्ष वामदेव गौतमसँग छलफल गर्नुभएको छ । ओलील स्थायी कमिटी सदस्य सहित वरिष्ठ नेताहरुसँग पनि छुट्टै छलफल गर्ने तयारी गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्